Logo

अर्थ

‘प्रि–बजेट’माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय



पोखरा । गण्डकी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्नेछ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरिने बताए ।

उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव तथा परामर्श लिने काम भइरहेको छ ।

मन्त्री शेरचनले गण्डकी प्रदेशको समृद्धिका लागि दीर्घकालीन महत्वका ठूला परियोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने बताए ।

अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्याल ले कास्कीबाहेक प्रदेशका सबै जिल्लामा प्रि–बजेट छलफल सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार स्थानीय तह, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग पनि बजेट निर्माणबारे परामर्श जारी छ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान घट्नु र राजस्व संकलन अपेक्षाअनुसार नबढेकाले यस वर्ष प्रदेशको बजेट आकार केही खुम्चिन सक्ने मन्त्रालयको अनुमान छ ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सरकारका अनुसार आन्तरिक स्रोत विस्तार हुन नसक्दा हरेक वर्ष बजेट व्यवस्थापनमा दबाब पर्ने गरेको छ ।

संघीय बजेटको आकार र प्राथमिकताका आधारमा प्रदेश बजेटमा पनि केही फेरबदल हुन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर आगामी बजेटका प्राथमिकता तय गरिने र प्रदेशको आवश्यकता तथा यथार्थअनुकूल बजेट ल्याउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार ०७:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।