नेपालमा अहिले क्यान्सर उपचारमा प्रयोग हुने ‘प्लाटिनमझ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव देखिएको छ ।
यी औषधि अभाव हुँदा यसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्न थालेको छ । नेपालमा किन क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव भयो त? यो विषयमा नेपाल औषधी आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यसँग गरिएको कुराकानी :
क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव भएको हो ?
अहिले बजारमा प्लाटिनमझ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव देखिएको छ ।
भारतबाट आयात हुने औषधिहरुको कच्चा पदार्थका मूल्यमा अन्तर्राष्ट्रिय बजारमा नै वृद्धि भएको अवस्था छ ।
हामीले यहाँ पूरानै मुल्यमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिका कारण आयातकर्ताहरु आयात गर्नबाट पछि हटेको अवस्था छ । बढी मुल्यमा ल्याएर घाटा खाएर उपलब्ध गराउन नसक्ने अवस्था आउँदा अहिले अभाव भएको हो ।
गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव हुनु ठिक हो?
होइन , हामी अहिले यो अभावलाई ब्यवस्थापन गर्ने गरेर अघि बढेका छौं । हामी आयातकर्ता र औषधि ब्यवस्था विभागको संयुक्त समूह बनाएर हामीले स्टक रहेका स्थानबाट आवश्यक परेका स्थानमा औषधि पुर्याउन लागि परेका छौं ।
मूल्य मात्र सबैकुरा होइन जनताको जीवन रक्षा महत्त्वपूर्ण कुरा हो भन्ने बुझेर अहिले हामी सकेसम्म अभावलाई न्यूनीकरण गर्ने कोशिसमा लागिरहेका छौं। नेपाल औषधि आयातकर्ता संघ (मीयान) र डीडीए यो काममा संयुक्त रुपमासँगै अघि बढेका छौं।
अहिले कति समयलाई ब्यवस्थापन गर्न सक्ने औषधि छ ?
हामीले भनेका छौं, क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि प्राथमिक तहमा एक हप्ता र बजारमा बढीमा दुई हप्ताको लागि मात्रै मौज्दात छ ।
अभावकै अवस्था कायम रहँदा यी औषधिले बढीमा तीन हप्तासम्म धान्न सक्छ । जहाँ अभाव हुन्छ त्यहाँ हाम्रो प्राथमिकता रहन्छ । सकेसम्म हामी जिम्मेवारी भुल्दैनौं ।
तीन हप्तापछि पनि यही अवस्था रहँदा अवस्था कस्तो होला?
हामीले यो विषयलाई अत्यन्तै गम्भीर रुपमा लिएका छौं। नाफाघाटा हेरेर होइन, जनताप्रतिको उत्तरदायित्व सम्झेर विमानमार्फत भएपनि केही औषधि ल्याउने तयारी गरेका छौं । अहिले विभागीय मन्त्रीज्यु नेपालमा नभएको अवस्था छ । यो अवस्थालाई पनि हामीले बुझेका छौं।
यसैले आउँदो बिहीबारसम्म विमानमार्फत भएपनि केही औषधि ल्याउने हाम्रो तयारी छ । नौं वटा आयात कम्पनी यसको तयारीमा जुटेका छौं ।
औषधि अभावको मुख्य कारण के हो?
अन्तर्राष्ट्रिय बजारबाट आयात हुने ९० प्रतिशत औषधि नेपालमा छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ । भारतमा समेत यो समुहका औषधिको उच्च मूल्य वृद्धि भएको अवस्था छ ।
यसैगरी उल्लेखित औषधीहरुको मूल्य नेपालमा लामो समयदेखि समायोजन हुन नसक्नु, विश्वबजारमा कच्चा पदार्थको मूल्य बढ्नु तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृङ्खलामा गम्भीर असर पर्दा नेपालमा यसको प्रत्यक्ष असर देखिएको हो।
औषधि आयात गर्दा ढुवानीका क्रममा भन्सारमा पनि समस्या हुने गरेको सुनिन्छ, कस्तो समस्या भोगिरहनु भएको छ ?
वास्तममा भन्सार जाँच तथा छुटाउने प्रक्रियामा आयातित औषधिहरूको मूल्यांकन सम्बन्धी विभिन्न चुनौती तथा अन्योलहरू देखिएका छन् ।
एउटै प्रकृतिका औषधिहरूमा फरक–फरक मूल्यांकन विधि अपनाइने गरेको गुनासो आयातकर्ताहरूबाट आउने गरेको छ ।
आर्थिक ऐनमा (बजेटमा) औषधिमा ५% मात्र भन्सार दर कायम गरिएको हुन्छ तर प्रक्रियामा झन्झट ब्यहोर्नु परिरहेको अवस्था छ। २०७४ साउन २७ गतेको भन्सार विभागको पत्रमा उल्लेख भएअनुसार भारतबाट आयात हुने वस्तुहरूको हकमा भन्सार मूल्यांकन गर्दा ’बिल अफ एक्स्पोर्टझ, ‘ई–वे बिलझ, ’प्रोफर्मा इन्भोईसझ तथा ’कमर्सियल इन्भोइसझ लाई आधार मानी मूल्यांकन गर्ने व्यवस्था गरिएको उल्लेख छ।
अतःऔषधिजन्य सामग्रीको आयात, भन्सार मूल्यांकन तथा महसुल निर्धारण प्रक्रियामा एकरूपता, पारदर्शिता तथा स्पष्टता कायम गर्न इन्भोइस भ्यालु स्वीकार गरी मूल्यांकन अभ्यासको लागि सहजीकरण गरिदिन आयातकर्ताको सरकारलाई आग्रह छ ।
अभाव समाधान गर्ने अन्तिम विकल्प के होला?
नेपालमा अन्तर्राष्ट्रिय बजारबाट आयात हुने औषधिको अभाव रोक्ने अन्तिम समाधान स्वचालित मूल्य समायोजन प्रणाली नै हो । भारतमा हरेक वर्ष मूल्य समायोजन हुन्छ। मूल्य घट्दा घट्छ, बढ्दा बढ्छ । तर नेपालमा २०७२ सालदेखि औषधीको मूल्य समायोजन भएको छैन।
आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्नुको विकल्प छैन । यो नै अन्तिम समाधान हो ।
अन्तर्राष्ट्रिय बजारमा औषधिको मुल्यमा उल्लेखनीय वृद्धि हुँदासमेत मूल्य समायोजन नहुँदा उत्पादक कम्पनीहरुले सरकारले तोकेको पुरानो मूल्य अनुसार औषधि आपूर्ति गर्न असमर्थ भएका छन।
जसले आयात प्रक्रियालाई प्रत्यक्ष असर पारेको छ भने बजारमा बेलाबखत अभाव देखिने गरेको छ। स्वचालित मूल्य समायोजन प्रणाली लागू हुँदा यो अवस्था रहन्न ।





















प्रतिक्रिया