काठमाडौं। नागरिक लगानी कोष र नबिल बैंक लिमिटेड बीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संशाधन विभाग प्रमुख दिवस कार्की ले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोषका साथै अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ। बैंकका कर्मचारीले मासिक वा वार्षिक रूपमा कट्टी गरिएको रकम नियमित रूपमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
कोषले कर्मचारीहरूको व्यक्तिगत खाता सञ्चालन तथा अभिलेख व्यवस्थापन गर्नेछ भने बैंकको सिफारिसका आधारमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गरिनेछ।
यस्तै, कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा प्रचलित ऐन, नियम तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल र अन्य सेवा सुविधा प्राप्त गर्नेछन्। बैंकले कर्मचारीहरूको व्यक्तिगत खातामा रहेको रकम, ऋण तथा लगानीसम्बन्धी विवरण पनि कोषलाई उपलब्ध गराउनुपर्नेछ।
सम्झौताअनुसार सेवा निवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टी गरी अवकाश रकम भुक्तानी गरिनेछ। त्यसका लागि बैंकले कर्मचारीको विवरण उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, आयकर ऐन २०५८ अनुसार स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साविकका कोषहरूमा रहेको बैंक कर्मचारीको उपदान तथा अतिरिक्त अवकाश कोषको रकम पनि नागरिक लगानी कोषमा रकमान्तरण गरिने सम्झौतामा उल्लेख छ।




















प्रतिक्रिया