Logo

खेलकुद

फिफा विश्वकपमा अमेरिकाको कडा नियम, इरानी टोली खेलकै दिन प्रवेश गरेर सोही दिन बाहिरिनुपर्ने



काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी राष्ट्रिय फुटबल टोलीलाई अमेरिकामा हुने खेलका दिन मात्र प्रवेश गर्न र सोही दिन बाहिरिनुपर्ने व्यवस्था गरिएको बताइएको छ। इरानका मेक्सिकोस्थित राजदूत अबोलफाज पसन्दिदेहले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार अमेरिकी भिसा सम्बन्धी कडाइका कारण इरानी टोलीले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ। टोलीले विश्वकप अवधिभर त्यहीँबाट तयारी गर्ने योजना बनाएको छ।

पत्रकारहरूसँग कुरा गर्दै राजदूत पसन्दिदेहले भने, “हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ।”

तर टोलीका प्रवक्ता अमिर महदीले खेलाडीहरूलाई बहुप्रवेश (मल्टिपल इन्ट्री) भिसा प्रदान गरिएको र टोली खेल हुनुभन्दा एक वा दुई दिनअघि नै खेलस्थल पुग्ने बताएका छन्। यसले टोलीको वास्तविक यात्रा व्यवस्थाबारे केही अन्योल सिर्जना गरेको छ।

समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्ट विरुद्ध खेल्दै समूह चरणको अभियान पूरा गर्नेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १४:४८   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।