काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी २०८३ साल जेष्ठ २९ गते २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आयोजना गर्ने भएको छ । संस्थाका अनुसार इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेका छन् ।
साधारणसभा र अधिवेशन वैधानिक प्रक्रिया अनुसार गर्न लागिएको संस्थाले जनाएको छ । इप्पानले २०८० साल जेष्ठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । सो समितिले २०८२ साल जेष्ठ २९ गते संस्थालाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहित मस्यौदा प्रतिवेदन पेश गरेको जनाएको छ ।
त्यसपछि २०८२ साल असार ३१ गते सम्पन्न २३औं साधारणसभाले उक्त प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनका लागि संस्थाका अध्यक्षलाई अधिकार दिएको थियो । तर पछि २०८३ साल वैशाख ४ गते सम्पन्न २००औं कार्यसमिति बैठकले इप्पान विधान २०७८ अनुसार नै २४औं साधारणसभा तथा आठौं अधिवेशन गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३औं बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने, अध्यक्ष पदका लागि एक कार्यकाल कार्यसमितिमा बसेका योग्य सदस्यले उम्मेदवारी दिन सक्ने र अन्य सबै पद खुला प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था गर्न लागिएको इप्पानले जनाएको छ ।
इप्पानले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले विधान गायब भएको तथा साधारणसभा विधानविपरीत हुन लागेको भन्ने आरोप लगाएकोप्रति कडा आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ ।
संस्थाले विधान संशोधन मस्यौदा तथा सम्बन्धित प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको स्पष्ट पार्दै गलत प्रचारप्रति भ्रममा नपर्न आग्रह गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार निर्धारित मिति अनुसार साधारणसभा तथा अधिवेशन वैधानिक रूपमा आयोजना हुने र सबै सदस्यलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।




















प्रतिक्रिया