काठमाडौं । पूर्वगभर्नर तिलक रावलका छोरा बिनय रावलविरुद्ध बैंकबाट व्यावसायिक कर्जा लिन नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी वित्तीय ठगी गरेको आरोपसहित नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ।
उजुरीअनुसार, रावलका छोरा आबद्ध कम्पनी एक्सप्लोराकोडो (XploraKodo) ले आफ्नो कारोबार र वित्तीय अवस्था वास्तविकभन्दा ठूलो देखाउन जाली तथा अप्रमाणित भ्याट बिलहरू सम्बन्धित वाणिज्य बैंकमा पेश गरेको आरोप लगाइएको छ।
ती विवरणका आधारमा कम्पनीले करोडौं रुपैयाँ बराबरको व्यावसायिक कर्जा स्वीकृत गराएको दाबी उजुरीकर्ताको छ।
उजुरीमा भनिएको छ,- ‘कम्पनीले आन्तरिक राजस्व कार्यालयबाट प्रमाणीकरण नभएका वित्तीय कागजात तथा भ्याट बिल प्रयोग गरी बैंकलाई गलत सूचना दिएको थियो।’ सोही आधारमा कर्जा स्वीकृत गराएर बैंकिङ प्रणालीलाई नै भ्रममा पार्ने काम भएको आरोप लगाइएको छ।
बैंकिङ नियमनअनुसार कर्जा स्वीकृत गर्दा ऋणीको वास्तविक कारोबार, कर चुक्ता विवरण तथा वित्तीय क्षमताको मूल्यांकन गरिनुपर्ने व्यवस्था छ।
तर पहुँच र प्रभावको आडमा नक्कली विवरण पेश गरी कर्जा प्राप्त गरिएको दाबी उजुरीमा गरिएको छ। उक्त विषयमा नेपाल राष्ट्र बैंकले आवश्यक छानबिन गरी बैंकिङ कसुर, वित्तीय अनुशासन उल्लंघन तथा सम्भावित ठगीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ।
यद्यपि, उजुरीमा लगाइएका आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। छानबिनबाट तथ्य पुष्टि हुन बाँकी रहेकाले आरोपहरू हाल दाबीका रूपमा मात्र रहेका छन्।




















प्रतिक्रिया