Logo

समाचार

मेलम्चीको पानी वितरणका लागि व्यासको पाइप बिछ्याउन सुरु



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजलमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने काम सुरु गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार यो खानेपानी वितरणका लागि प्रयोग हुने हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो।

मेलम्चीको पानी वितरण विस्तारका लागि भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोला क्षेत्रमा नयाँ वितरण सञ्जाल निर्माण प्रक्रिया अघि बढाइएको छ।

निर्देशनालय प्रमुख रामकुमार श्रेष्ठका अनुसार पाँच क्षेत्रमा वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। मेलम्चीको पानी उपत्यकाका विभिन्न बस्तीमा पुर्‍याउन दिनरात काम भइरहेको उनले बताए।

हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन्।

पाइपलाइन परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिनेछ।

प्रणाली हस्तान्तरणपछि उपत्यकावासीले नियमित रूपमा मेलम्चीको पानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ०७:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।