Logo

अर्थ

पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय: मन्त्री गौरी कुमारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले नेपाल आयल निगममार्फत सिलिगुडी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी कार्य अगाडि बढिरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘नेपाल आयल निगमबाट सिलिगुडी–चारअली र अमलेखगञ्ज–लोथर अन्तरदेशिय पेट्रोलियम पाइप लाइन निर्माण सम्बन्धी कार्य अघि बढीरहेको छ ।’

उनका अनुसार सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने अन्य प्राविधिक तयारीका कामहरू पनि नेपाल आयल निगमले अघि बढाइरहेको छ ।

मन्त्री कुमारीले औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोन्नति गर्ने तथा औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य पनि जारी रहेको बताइन् ।

उनले भनिन्, ‘सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधिका कार्यहरु नेपाल आयल निगमबाट अघि बढीरहेको जानकारी गराउँदछु । औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तरगत कञ्चनपुरस्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोउन्नती गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरुलाई प्लट उपलब्ध गराउने कार्य अघि बढीरहेको छ।’

उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता कुल मागको तीन महिनासम्म धान्न सक्ने स्तरमा पुर्याउने सरकारी लक्ष्यअनुसार काम भइरहेको उल्लेख गरिन् ।

चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन मन्त्रालयले कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिँदै मन्त्री कुमारीले चिया, अलैंचीलगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान तथा बजार पहुँच विस्तारका लागि सम्बन्धित उद्यमी–व्यवसायीसँग लागत साझेदारीमा वेयरहाउस निर्माण गर्न स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताइन् ।

उनले भनिन्, ‘पेट्रोलियम पदार्थको भण्डारण कूल मागको तीन महिनाको लागि प्रर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले काम गरिराखेको छ । मन्त्रालयले चिया निर्यातमा देखिएका प्रविधि तथा व्यापारीक अवरोध समाधानका लागि कुटनीतिक माध्यमबाट पहल गरिरहेको व्योहोरा सम्मानीत सदन समक्ष अवगत गराउन चाहन्छु । चिया तथा अलैंची लगायत विभिन्न कृषि उपजहरुको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरुसँगको लागत साझेदारीमा वेयरहाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु ।’

उनले कृषि उपजको भण्डारण तथा बजार व्यवस्थापन सुदृढ बनाउँदै निर्यात प्रवद्र्धनमा सरकार केन्द्रित रहेको पनि स्पष्ट पारिन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १४:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।