काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे ।
उनले भने, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्षामन्त्रालयसँग जोडियो । यसरी यो वेवारिसे र टुहुरो मन्त्रालयजस्तै बनाइयो,’ उनले भने ।
मन्त्री पुनले हाल पुर्नजन्म लिएको मन्त्रालयका रूपमा स्थापना भएको उल्लेख गर्दै यसलाई मन्त्रालयको ‘सातौँ पुर्नजन्म’को संज्ञा दिए । उनले भने, ‘यो मन्त्रालयको सातौं पुर्नजन्म हो । यसमा राजनीतिकरण भयो । भागबण्डाको राजनीतिले यो मन्त्रालयलाई खायो। त्यसैले यो हेला गरिएको मन्त्रालय थियो। अहिलेको सरकारले यसलाई फेरि नयाँ मन्त्रालयका रूपमा ल्याएको छ ।’
आफू राजनीतिमा व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको माया र जिम्मेवारीबोधका कारण आएको पनि उनले बताए ।
उनले भने, ‘देशसँग पिरती बसेको कारणले म सांसद र मन्त्री भएँ। नत्र म सांसद वा मन्त्री हुने मान्छे होइन । अमेरिकाबाट घुम्न मात्रै गाउँ आएको थिएँ। सुरुमा गाउँसँग माया बस्यो, त्यसपछि जिल्लासँग बस्यो र अन्ततः पूरै देशसँग नै माया बस्यो ।’
मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासमार्फत देशको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।




















प्रतिक्रिया