राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक भएका छन् । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)’ राखिएको छ ।शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी दुई पार्टी एक भएको घोषणा गरिए पनि पार्टीको केन्द्रीय समितिको संख्या, पदाधीकारी संख्यालगायतका विषय भने टुङ्गिएको छैन ।
‘हामीले केन्द्रीय समिति, पदाधिकारी, कार्यसम्पादन समिति, निर्देशक समिति जस्ता विषयमा अध्यक्षद्धयले गरेको सहमती मानेर जाने सहमति गरेका छौं ,’ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का सह-प्रवक्ता जनकराज पाठकले भने ।
पाठककाअनुसार निर्देशक समितिमा भने अध्यक्षद्धय र वरिष्ठ नेताहरु हरिबहादुर थापा, नवराज सुवेदीलगायतका रहनेछन् । र केन्द्रीय समिति, पदाधिकारीलगायत सबैमा दुबै पार्टीका ५०/५० प्रतिशत हुनेगरी जिम्मेवारी दिइनेछ । ‘समान हैसियतको एकता हो । समान भनेपछि ५०/५० नै हुन्छ । तर अध्यक्षद्धयको निर्णयलाई अन्तिम मानेर जाने भन्ने सहमति छ ,’ पाठकले भने ।
२०७३ साल फागुनमा तीन वटा राप्रपा मिलेर एक भइ एकता महाधिवेशनबाट कमल थापालाई अध्यक्ष चुनिएका थिए । तर, त्यो एकता लामो समय टिक्न सकेन ।२०७३ चैत १६ गते डा. लोहनीले पार्टी फुटाए । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नाम दिएर निर्वाचन आयोगमा दर्ता गरे । त्यसको करिब एक वर्षपछि २०७४ साउनमा पशुपति राणा पनि कमल थापासँग छुट्टिएका हुन् ।
गत मंसिर २६ गते फेरि तीन वटै राप्रपाबीच एकता गर्ने करिब टुङ्गो लागेको भए पनि सम्भव भएन । तीनवटा राप्रपाबीच एकता घोषणा गर्नका लागि मंसिर २६ गते हल बुक भइसकेको थियो केन्द्रीय समिति, पादधिकारीलगायतमा भागवण्डा मिल्न भने सकिरहेको थिएन ।
लोहनी नेतृत्वको राप्रपाले लिखित सहमति भए मात्रै एकता गर्ने अडान राखेको थियो । लोहनीलाई छाडेर कमल थापा र राणाको पार्टी एक हुने गरी पनि छलफल भयो तर, मंसिर २५ गते तत्काल एकता नर्गने निश्कर्ष नेताहरु पुगेका थिए ।
‘त्यसबेला हामीले सबै विषयमा लिखित सहमती हुनुपर्छ भनेर भनेका थियौं । त्यसो हुन सकिरहेको थिएन र हामीले सहमती समेत जनाइरहेका थिएनौं । अन्तिममा त्यहीँ विषयमा कुरा नमिल्दा त्यसबेला एकता हुन सकेन,’ एराप्रपाका सह-प्रवक्ता पाठक भन्छन्, ‘तर, आजको एकता केवल एकताका लागि होइन यो दिगो हुन्छ ।’संयुक्त पार्टीको चुनाव चिहृन हलो राख्ने सहमति भएको छ । गत निर्वाचनमा राप्रपा प्रजातान्त्रिकको गोलाकारभित्र हलो र राप्रपा राष्ट्रवादीको आयातकारभित्र हलो चिहृन राखेको थियो ।
मुख्य मुद्दा- हिन्दु राष्ट्र
एकता घोषणा सभामा संयुक्त राप्रपाका अध्यक्षद्धय राणा र लोहनीले आफुहरुको मुख्य मुद्दा ‘धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भएको उल्लेख गरेका छन् । ‘हाम्रो मुख्य मुद्दा भनेको धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र कायम गराउनु हो,’ डा. लोहनीले भने, ‘विश्वमा २ सय करोड हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेहरु छन् । ती सबैको तीर्थस्थल नेपाल हो ।’
विश्व ठूला भनिएका राष्ट्रहरुमा पनि राजसंस्था रहेको उल्लेख गर्दै डा. लोहनीले नेपालमा पनि अभिभावकको रुपमा राजसंस्था आवश्यक रहेको तर्क गरे । ‘नेपालको सनातन हिन्दु राष्ट्रको पहिचान मेटाउनुहरु जानुस चीनमा गएर हेर्नुस कन्फुससका केन्द्रहरु’, लोहनीले थपे, ‘बेलायतमा राजसंस्था छ, जापानमा, स्वीडेनमा, नर्वेमा, थाइल्याण्डमा राजसंस्था छ । ती सबै पुरातनवादी हुन ?’
अर्का अध्यक्ष राणाले हिन्दु धर्मको माग राख्दै सडकमा जाने चेतावनी दिए ।‘हिन्दु राष्ट्र पुनर्स्थापित गरी छाड्छौं । हिन्दु राष्ट्रको पहिचान मेटिन दिइन्न । हामी सडकमा उत्रन्छौं ,’ राणाले भने । उनले कमल थापा र लोकेन्द्रबहादुर चन्दलाई पनि नामै लिएर एकतामा आउन आव्हान गरे ।
सरकारको चर्को आलोचना
पार्टी एकता घोषणा सभामा नेताहरुले सरकारको चर्को आलोचना गरे । नेपालमा महंगी र भ्रष्टाचार बढेको भन्दै अध्यक्ष डा.लोहनीले ‘नेपालमा मार्सि चामल पुजिवाद’ सुरु भएको भन्दै ब्यङ्ग्य गरे । ३३ किलो सुन काण्ड, वाइडबढी र गाडी खरिदका विषयमा अनियमितता भएको र त्यसमा सरकारकै संलग्ना रहेको उनको आरोप छ ।
सरकारको १० महिनामा उल्लेख गर्न लायक केही काम नभएको भन्दै उनले वामपन्थी बाहेक सबै मिल्नुपर्नेमा जोड दिए ।
अर्का अध्यक्ष राणाले पनि भ्रष्टाचार वडातहसम्म पुगेको भन्दै त्यसका विरुद्ध लड्नुपर्ने बताए । उनले सरकारले भेनेजुयलाबारे बोलेर नेपालको असम्लग्न परराष्ट्र नीतिलाई धरापमा पारेको भन्दै आलोचना गरे ।
प्रतिक्रिया