Logo

पर्यटन

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच



म्याग्दी । केही वर्षअघिसम्म ओझेलमा रहेको अन्नपूर्ण हिमालको आधार शिविर अहिले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविरमा पछिल्ला वर्षहरूमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पदमार्ग निर्माण, खानेबस्ने सुविधा विस्तार र प्रवर्द्धनात्मक कार्यक्रमका कारण आधार शिविरमा पूर्वाधारले धान्न सक्ने क्षमताभन्दा बढी पर्यटक पुग्न थालेका छन्। छोटो समयमै सहज पदयात्रा गरेर पुग्न सकिने भएकाले आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको उनले बताए।

विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य व्यापक रूपमा स्थापित भइसकेको थिएन। त्यसअघि कास्कीतर्फको मार्गलाई मात्र आधार शिविर पुग्ने बाटोका रूपमा चिनिन्थ्यो।

सन् २०१२ मा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोग नारच्याङ पुगेपछि उनले प्रयोग गरेको ऐतिहासिक मार्ग र आधार शिविरबारे जानकारी दिएसँगै स्थानीयस्तरमा खोज तथा अनुसन्धान सुरु भएको थियो।

प्रभा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तेज गुरुङको नेतृत्वमा स्थानीयवासीको टोलीले मार्ग पहिचान गरेपछि अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा उक्त पदमार्गको नक्साङ्कन गरी ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरेको थियो।

गुरुङका अनुसार निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार ६८ वटा काठका पुल निर्माण गरेर सात दिनको यात्रापछि टोली आधार शिविर पुगेको थियो।

नारच्याङदेखि आधार शिविरसम्मको पदमार्गलाई व्यवस्थित बनाउन करिब एक दशक लाग्यो। तीन वर्षअघि सञ्चालनमा आएको यो मार्ग अहिले नयाँ पदयात्रा गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

समुद्री सतहबाट ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरसम्म छोटो दूरीमै पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको व्यवसायीहरू बताउँछन्।

भुसकेतका होटल व्यवसायी माइकल पुनका अनुसार वसन्त र शरदयाममा दैनिक २०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। तर अस्थायी संरचनामा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूको क्षमता सीमित भएकाले पाहुनाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने भएकाले स्थायी संरचना निर्माणका लागि सरकारी अनुमति आवश्यक पर्ने व्यवसायीहरूको भनाइ छ।

हाल ५० जना पाहुना अट्ने क्षमताका अस्थायी संरचनालाई चार–पाँच गुणासम्म बढी पर्यटकले प्रयोग गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

तीन वर्षअघिसम्म वसन्तयाममा मुख्यतः हेलिकोप्टरमार्फत आरोहीहरू मात्र पुग्ने आधार शिविरसम्म अहिले नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र त्यहाँबाट २२ किलोमिटर पदमार्ग निर्माण भएको छ।

मिस्त्रीखोलाको किनार, अग्ला झरना, हिमशृङ्खला, दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्दै दुई दिनमा आधार शिविर पुग्न सकिन्छ। तेस्रो दिन फर्किन सकिने भएकाले छोटो अवधिको पदयात्राका लागि यो मार्ग उपयुक्त मानिन्छ।

आधार शिविरमुनि समुद्री सतहबाट ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पनि पर्यटकको अर्को आकर्षण बनेको छ।

करिब १ लाख ७ हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो हिमताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बनेको प्राकृतिक जलाशय हो। आधार शिविरबाट अन्नपूर्ण हिमाल र पञ्चकुण्ड तालको दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ।

यहाँ अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोग, लुई लाचेनाल र सोनाम वालुङ शेर्पाको सालिकसहित खुला सङ्ग्रहालय स्थापना गरिएको छ। सङ्ग्रहालयमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावलीसमेत राखिएको छ।

यद्यपि सञ्चार, विद्युत् र स्वास्थ्य सेवाको अभावले पर्यटक तथा व्यवसायी दुवैलाई समस्या भइरहेको छ। सञ्चार सुविधा नहुँदा लेक लागेका बिरामीको उद्धार तथा पर्यटक व्यवस्थापनमा कठिनाइ हुने गरेको व्यवसायीहरूको भनाइ छ।

बढ्दो पर्यटक आगमनसँगै फोहोर व्यवस्थापन, पदमार्ग स्तरोन्नति र झोलुङ्गे पुल सुधार पनि मुख्य चुनौतीका रूपमा देखिएका छन्।

प्रकाशित मिति : ७ असार २०८३, आईतवार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।