काठमाडाैं । नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
कुल ऋण दायित्व नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत पुगेको छ ।
चालू आवको सुरु (साउन)मा कुल ऋण दायित्व आन्तरिकतर्फ १२ खर्ब ६८ अर्ब २२ करोड र बाह्यतर्फ १४ खर्ब पाँच अर्ब ८२ करोड गरी २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ थियो ।
कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्म सरकारले तिर्नुपर्ने ऋण बाह्यतर्फ १५ खर्ब ८३ अर्ब ९१ करोड र आन्तरिकतर्फ १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । सरकारले चालू आवमा कुल पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालनको लक्ष्य राखेको थियो ।
जसमध्ये जेठ मसान्तसम्ममा चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्ति भएको प्रतिवेदनमा उल्लेख छ । यो वार्षिक लक्ष्यको तुलनामा ७०.२० प्रतिशत हो । आन्तरिक ऋणतर्फ सरकारले तीन खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ उठाएको छ, जुन वार्षिक लक्ष्यको ९३.५५ प्रतिशत हो । त्यसैगरी, बाह्यतर्फ ७९ अर्ब ४६ करोड रुपैयाँ प्राप्ति भएको छ । यो लक्ष्यको ३४.०१ प्रतिशत हो ।
सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा र व्याज भुक्तानीमा ठूलो रकम खर्चिएको छ । सरकारले जेठ मसान्तसम्ममा कुल ३ खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ ऋण सेवा (साँवा र व्याज) मा खर्च गरेको छ ।
यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा २ खर्ब २९ अर्ब ६० करोड र व्याज भुक्तानीमा ५५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै, समीक्षा अवधिमा बाह्य ऋणतर्फ ५४ अर्ब ८४ करोड साँवा र ११ अर्ब ६७ करोड रुपैयाँ व्याज भुक्तानी गरिएको छ ।




















प्रतिक्रिया