Logo

समाचार

भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट



चितवन  । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार आयोजित महानगरपालिकाको १९औँ नगरसभामा कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले उक्त बजेट प्रस्तुत गरेका हुन्।

यो चालु आर्थिक वर्षको तुलनामा करिब २९ करोड रुपैयाँ बढी हो। महानगरले चालु आर्थिक वर्षमा ५ अर्ब २२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

कार्यवाहक प्रमुख अधिकारीका अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। उनले चालु आर्थिक वर्षमा अपेक्षाअनुसार पुँजीगत खर्च हुन नसकेको बताए।

उनका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षति, प्रतिनिधिसभा निर्वाचन तथा इरान–अमेरिका द्वन्द्वका कारण इन्धनको मूल्यवृद्धि हुँदा विकास निर्माणका काम प्रभावित भएका छन्।

राजस्व संकलन पनि लक्ष्यअनुसार हुन नसकेको महानगरले जनाएको छ। चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको अधिकारीले जानकारी दिए।

महानगरले आगामी वर्ष जीआईएसमा आधारित सूचना प्रणाली सञ्चालन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना लगायतका कार्यक्रम अघि सारेको छ। रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्तीमा जंगली जनावर प्रवेश रोक्न फाउन्डेसनसहितको जालीबार निर्माण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

वडा नं. १५ मा १०० शय्याको आयुर्वेद अस्पताल निर्माण तथा महानगर क्षेत्रमा साइकल लेन विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार १९:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।