काठमाडौं। स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्ता समाप्त भएको छ। यसबारे इरानी वार्ताकार मोहम्मद बाकर गालिबाफले जानकारी दिएका छन्।
गालिबाफले सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीप्रति असन्तुष्टि जनाउँदै आफूहरू वार्ता छाडेर बाहिरिएको बताएका छन्। उनका अनुसार त्यसपछि अमेरिकी पक्षले मध्यस्थमार्फत पुनः वार्ताको प्रस्ताव गरेको थियो।
गालिबाफले भने, “८० मिनेटको छलफलपछि मलाई ट्रम्पले हाम्रा राष्ट्रपति, हाम्रो वार्ता टोली र हाम्रो भूभागमाथि आक्रमण गर्ने धम्की दिएको जानकारी प्राप्त भयो।”
उनले थप भने, “मैले अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई भनें, हामी यहाँ वार्ताका लागि आएका हौं। सम्झौताको पहिलो सर्तमै कुनै पनि प्रकारको धम्की वा दबाब नहुने स्पष्ट उल्लेख छ। तर आज तपाईंका राष्ट्रपतिले धम्की दिएका छन्। यो कुरा बुझ्नुस्, हामी धम्की वा दबाबमा रहेर वार्ता गर्दैनौं।”
गालिबाफका अनुसार त्यसपछि इरानी पक्षले वार्ता अन्त्य गरी बैठकस्थल छाडेको थियो र पुनः फर्किएन।
उनले भने, “पछि अमेरिकी पक्षले मध्यस्थमार्फत अर्को चरणको वार्ताको प्रस्ताव गर्यो, तर हामीले अस्वीकार गर्यौं। कतार र पाकिस्तानका मध्यस्थहरू हामीकहाँ आए। हामीले उनीहरूलाई हामीसँग संवाद गर्न सक्ने, तर अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता नगर्ने जानकारी दियौं।”
उनले अन्त्यमा कतार र पाकिस्तानले संयुक्त रूपमा सार्वजनिक गरेको वक्तव्यअनुसार नै छलफलको निष्कर्ष निस्किएको बताए।




















प्रतिक्रिया