Logo

अन्तर्राष्ट्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प, मृतकको संख्या हजारौँ पुग्ने अनुमान



काठमाडौं। भेनेजुएलाको राजधानी कराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्। पहिलो भूकम्प ७ दशमलव २ र दोस्रो ७ दशमलव ५ परिमाणको मापन गरिएको हो।

भूकम्पका कारण धेरै भवन भत्किएका छन् भने सर्वसाधारण घरबाट बाहिर निस्किएर सडकमा आश्रय लिन बाध्य भएका छन्। गृहमन्त्री डियोसदादो काबेलोले नागरिकलाई घर खाली गर्न आग्रह गरेका छन्।

यस विपत्तिमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भीय अध्ययन संस्थाका अनुसार मृतकको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।

भूकम्प गएको बेला भेनेजुएलामा राष्ट्रिय बिदा मनाइँदै रहेकाले धेरै मानिस घरमै रहेका हुन सक्ने बताइएको छ। स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु कराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्रमा रहेको जनाइएको छ। भेनेजुएलाका अन्य धेरै प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

गृहमन्त्री काबेलोले सरकारी दूरदर्शनसँग कुरा गर्दै देशका धेरै प्रदेश भूकम्पबाट प्रभावित भएको जानकारी दिएका छन्। उनले भने, “प्राप्त सबै संकेतले यसको तीव्रता सातभन्दा निकै माथि रहेको देखाउँछन्।”

उनका अनुसार त्रुजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरान्डा, कराकास र ला गुआइरा क्षेत्रमा भूकम्पको प्रभाव तीव्र रूपमा महसुस गरिएको थियो। राजधानी कराकासका पालोस ग्रान्देस र अल्तामिरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।

कोलम्बियासम्म महसुस भयो कम्पन
सामाजिक सञ्जालमा सार्वजनिक गरिएका दृश्यहरूमा केही भवनमा चिरा परेको, धेरै संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा कतिपय पूर्ण रूपमा भत्किएको देखिएको छ। पछिल्ला धक्काहरू आउन सक्ने त्रासका कारण हजारौँ बासिन्दा अझै आफ्ना आवासमा फर्किएका छैनन्।

भूकम्पको कम्पन छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो। सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको मूल्याङ्कन जारी रहेकाले क्षतिको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार ०८:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।