काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूबाट प्राप्त हुने तथ्यांकको गुणस्तर, एकरूपता र विश्वसनीयता सुनिश्चित गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ।
कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा बिमकहरूले पेस गर्ने तथ्यांकलाई व्यवस्थित बनाउने, आइआरएमआइएस (IRMIS) मा गरिएको डाटा रिपोर्टिङसम्बन्धी परिवर्तनबारे जानकारी गराउने तथा रिपोर्टिङका क्रममा देखिएका समस्या समाधानका उपायबारे छलफल गरिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि तथ्यांकको शुद्धता, एकरूपता र विश्वसनीयता अपरिहार्य रहेको बताए।
उपनिर्देशक पुष्पा कुँवरले तथ्यांक प्रणालीमा देखिएका समस्या समाधानका लागि प्राधिकरण सहकार्य र सहजीकरण गर्न तयार रहेको जानकारी दिइन्।
सहायक निर्देशक सुन्दर प्रसाद शर्माले बिमा अनुसन्धानका क्रममा देखिएका चुनौती, समस्या र सम्भावनाबारे प्रस्तुति दिँदै अनुसन्धानका लागि आवश्यक तथ्यांक समयमै उपलब्ध गराउनुपर्ने, तथ्यांकमा एकरूपता कायम गर्नुपर्ने तथा प्रत्येक बिमकले अनुसन्धानसम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने आवश्यकता औँल्याए। उनले अनुसन्धानलाई प्राथमिकता दिँदै आवश्यक स्रोत–साधनको सुनिश्चितता गर्न पनि आग्रह गरे।
त्यसैगरी, तथ्याङ्कशास्त्री वसन्त प्रसाद बोहराले बिमकहरूबाट सङ्कलन गरिने तथ्यांकको आधार, सङ्कलन प्रणालीमा गरिएका सुधार तथा प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा बिमा, लघुबिमा तथा पुनर्बिमा कम्पनीका तथ्यांक, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक प्रथम कमला घर्तीले गरेकी थिइन्।




















प्रतिक्रिया