Logo

अटो

नेपालमा सार्वजनिक भयो नयाँ TVS Apache RTR 160 4V, पहिलो पटक प्रोजेक्टर हेडल्याम्प र TFT क्लस्टरसहित



काठमाडौं । जगदम्बा मोटर्सअन्तर्गत नेपालमा TVS मोटरसाइकलको आधिकारिक वितरकले नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडलले नेपालमा १६० सीसी सेग्मेन्टमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, यूएसडी (USD) फ्रन्ट सस्पेन्सन र ५ इन्चको टीएफटी (TFT) डिजिटल क्लस्टर जस्ता फिचर ल्याएको छ।

कम्पनीले शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरेको मोटरसाइकल स्मार्ट ब्ल्याक, रेसिङ रेड र म्याट मेरिन ब्लु गरी तीन रंगमा उपलब्ध हुने जनाएको छ। नयाँ मोडलमा आधुनिक प्रविधि, उच्च प्रदर्शन र राइडरको सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ।

TVS का अनुसार Apache सिरिजले विगत दुई दशकदेखि प्रदर्शनमुखी मोटरसाइकलका रूपमा विश्वव्यापी पहिचान बनाएको छ। नयाँ Apache RTR 160 4V मा पनि त्यही परम्परालाई निरन्तरता दिँदै शक्तिशाली इन्जिन, उत्कृष्ट नियन्त्रण र आधुनिक डिजाइन समेटिएको छ।

मोटरसाइकलमा १५९.७ सीसी क्षमताको इन्जिन जडान गरिएको छ। स्मार्ट एक्स मोडमा यसले ९,२५० आरपीएममा १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन मोडमा ८,६५० आरपीएममा १५.६४ पीएस शक्ति उपलब्ध गराउँछ। यसमा ५-स्पिड गियरबक्स र १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ।

सुरक्षाका लागि डुअल–च्यानल एबीएस, ३७ एमएम अपसाइड–डाउन (USD) फ्रन्ट फोर्क, स्मार्ट र अर्बन राइड मोड जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। रातिको यात्रालाई सहज बनाउन प्रोजेक्टर एलईडी हेडल्याम्प र राइडसम्बन्धी विस्तृत जानकारी देखाउने ५ इन्चको टीएफटी डिस्प्ले राखिएको छ।

कार्यक्रममा TVS मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभागका बिजनेस प्रमुख पेप्पान कन्दास्वामीले नयाँ Apache ले विश्वस्तरीय प्रविधि र राइडिङ अनुभवलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। यस्तै, जगदम्बा मोटर्सका प्रालिका कार्यकारी निर्देशक शालिन अग्रवालले नेपाली ग्राहकका लागि अत्याधुनिक प्रविधिसहितको नयाँ मोडल ल्याउन पाउँदा उत्साहित रहेको बताए।

उनका अनुसार नयाँ Apache RTR 160 4V मा प्रोजेक्टर हेडल्याम्प, USD सस्पेन्सन र TFT क्लस्टरजस्ता सुविधा उपलब्ध हुनु नेपाली बजारका लागि महत्वपूर्ण उपलब्धि हो। यसले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ।

कम्पनीले मोटरसाइकलको एक्स–शोरुम मूल्य ४ लाख १९ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार २१:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।