Logo

प्रमुख समाचार

पुँजीकोष संकट र सञ्चालकको मनोमानी औंल्याउँदै राष्ट्र बैंकले गर्‍यो लघुवित्तहरुलाई कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने लघुवित्त वित्तीय संस्थाहरू कारबाही गरेको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने संस्थाहरू बनेपाको आरम्भ चौतारी लघुवित्त, तनहुँको गणपति लघुवित्त, बनेपाकै सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्तका र पोखराको सिवाईसी लघुवित्तलाई कारबाही गरेको छ।

आरम्भ चौतारी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ७.७ प्रतिशत मात्र कायम गरेको तथा गणपति लघुवित्तले ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिश र सिवाईसी लघुवित्तले ६.२० प्रतिशत मात्रै न्यूनतम पुँजीकोष कायम गरेको भन्दै राष्ट्र बैंकले शिघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको छ ।

यी संस्थाहरूले २०८२ असार र असोज मसान्तको तथ्यांक अनुसार नियामकले तोकेको न्यूनतम सीमाभन्दा कम पुँजीकोष कायम गरेको पाइएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४ को प्रावधान बमोजिम शिघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पुँजीकोषको समस्या बाहेक कतिपय संस्थामा सञ्चालक समिति र व्यवस्थापनको मनोमानी समेत देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । पोखरास्थित सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले संस्थाको आर्थिक प्रशासन विनियमावलीमा उल्लेखित खर्च सीमा र अख्तियारी पालना नगरिएको भन्दै सचेत गराइएको छ ।

बागलुङको धौलागिरी लघुवित्तले कर्मचारी सेवा विनियमावलीको सेवामा पुनः कायम गर्न सक्ने सम्बन्धी व्यवस्थाको मर्म विपरित हुनेगरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको तथा स्पष्ट आधार र कारण विना निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित प्रदान गरेको पाइएको छ ।

यस्तै, वित्तीय अनुशासन उल्लंघन गर्ने क्रममा नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १५:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।