Logo

अर्थ

सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हटाइने



काठमाडौं । सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने व्यवस्था हटाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको हो ।

छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख उक्त व्यवस्थाको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ ।

उद्योग मन्त्रालयका शाखा अधिकृत केशवराज शर्माले सेयर कारोबारमा थप शुल्क लगाउने व्यवस्थाप्रति धेरै सुझाव प्राप्त भएकाले त्यसलाई हटाउने वा परिमार्जन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। उनका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर मस्यौदा अन्तिम रूप दिएपछि मात्र कानुन मन्त्रालयमा पठाइनेछ ।

हालको कम्पनी ऐनअनुसार कम्पनी दर्ता, पूँजी वृद्धि, नाम परिवर्तन तथा कम्पनी खारेजी गर्दा मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा शुल्क लाग्ने व्यवस्था छ । सामान्य सेयर खरिद–बिक्रीमा हस्तान्तरण शुल्क लाग्दैन । अपवादस्वरूप, एकल सेयरधनी रहेको कम्पनीका सञ्चालकको मृत्यु भएपछि हकवालालाई सेयर हस्तान्तरण गर्दा कम्पनी दर्ता शुल्कको ५० प्रतिशत मात्रै लाग्ने कानुनी व्यवस्था रहेको छ ।

यद्यपि, प्रस्तावित ऐनमा धितोपत्र बजारमार्फत हुने सेयर कारोबारमा पनि १ प्रतिशत शुल्क संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राखिएको थियो । मस्यौदाअनुसार यस्तो शुल्क धितोपत्र व्यवसायी (ब्रोकर) मार्फत संकलन गरिने उल्लेख थियो ।

यसअघि नै धितोपत्र व्यवसाय नियमावलीमा सेयर हस्तान्तरणसम्बन्धी व्यवस्था रहेकाले नयाँ प्रस्तावले लगानीकर्तामाथि थप आर्थिक भार पर्ने भन्दै विरोध भएको थियो ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १६:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।