काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ।
अब सरुवासम्बन्धी सम्पूर्ण प्रक्रिया यही प्रणालीमार्फत मात्रै सञ्चालन गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
सूचनाअनुसार सरुवा चाहने कर्मचारीले अनिवार्य रूपमा प्रणालीमा आफ्नो व्यक्तिगत खाता (अकाउन्ट) सिर्जना गरी अनलाइनमार्फत सरुवाको निवेदन पेश गर्नुपर्नेछ।
अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवाका निवेदनमाथि कुनै कारबाही नहुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रणाली सञ्चालनसम्बन्धी प्रयोगकर्ता पुस्तिका (म्यानुअल) तथा आवश्यक जानकारी पनि प्रणालीमै उपलब्ध रहेको उल्लेख गरेको छ।
साथै, नयाँ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै कर्मचारी तथा निकायको सहयोग अपेक्षित रहेको मन्त्रालयले जनाएको छ।
सरुवा प्रणाली saruwa.mofaga.gov.np मार्फत सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।






















प्रतिक्रिया