काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः सत्तामा फर्किएपछि पहिलो वर्षमै आभासी मुद्रासम्बन्धी कारोबारबाट एक अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन्।
सन् २०२५ का लागि सार्वजनिक गरिएको अनिवार्य आर्थिक विवरणअनुसार ट्रम्पले आफ्नो नाममा जारी गरिएको व्यंग्यात्मक डिजिटल मुद्राबाट ६३ करोड ५० लाख अमेरिकी डलर बराबरको रोयल्टी आम्दानी गरेका हुन्। उक्त डिजिटल मुद्रा उनले राष्ट्रपतिको पद सम्हाल्नुभन्दा तीन दिनअघि सार्वजनिक गरेका थिए।
विवरणअनुसार ट्रम्पले आफ्ना छोराहरू तथा विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको आभासी मुद्रासम्बन्धी कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’बाट पनि ५० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन्।
घरजग्गा व्यवसाय, आफ्नै नामका धार्मिक ग्रन्थ, हातघडी तथा अन्य सामग्रीको बिक्रीबाट समेत उनले करोडौँ डलर आम्दानी गरेको विवरणमा उल्लेख छ।
ट्रम्प र उनका परिवारले ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ को आम्दानीमध्ये ७५ प्रतिशत हिस्सा प्राप्त गर्ने व्यवस्था रहेको जनाइएको छ। यो रकम ट्रम्पले सन् २०२४ मा सार्वजनिक गरेको आर्थिक विवरणमा उल्लेख गरिएको ६० करोड अमेरिकी डलरभन्दा बढी आम्दानीको तुलनामा उल्लेखनीय रूपमा बढी हो।
यद्यपि, ह्वाइट हाउसले ट्रम्पले राष्ट्रपतिको पदको प्रभाव प्रयोग गरी व्यक्तिगत लाभ लिएको भन्ने आरोप अस्वीकार गरेको छ।
ह्वाइट हाउसकी उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई आभासी मुद्राको विश्व केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै राष्ट्रपति वा उनका परिवारले कुनै पनि स्वार्थ बाझिने गतिविधिमा संलग्नता नजनाएको बताएकी छन्।





















प्रतिक्रिया