Logo

अर्थ

एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा प्रविधिमैत्री सामग्री सहयोग उपलब्ध गराएको  छ ।

बैंकले के.आई.सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई एक थान वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर उपलब्ध गराएको हो ।

प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुने श्री सरस्वती आधारभूत विद्यालयमा हाल ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले बाबुआमा नभएका २१ जना सीमान्तकृत विद्यार्थीलाई आवासीय तथा खानबस्ने सुविधा पनि प्रदान गर्दै आएको छ। आषाढ १५ गते आयोजित कार्यक्रममा बैंकको दिपायल शाखाका प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए।

यस्तै, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने श्री जन जागृति माध्यमिक विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरूको प्रविधिमा पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले सूचना–प्रविधि सामग्री सहयोग गरेको जनाएको छ। आषाढ १६ गते आयोजित कार्यक्रममा बैंकको इएसजी एण्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२ का वडा अध्यक्ष दिपेन्द्र प्रसाद नेपाल र प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँचमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार ११:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।