Logo

समाचार

अब नेपाल टेलिकमको सिमकार्ड हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयनमा



काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड अब ग्राहकहरूले घरमै पाउने भएका छन्।

टेलिकमले उपलब्ध गराउने सिमकार्डलगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्सलगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी हुने भएको हो।

अब टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीको सिमकार्डलगायतका अन्य सामग्री घरैसम्म हुलाकमार्फत पाउनेछन्। जसका लागि टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता भएको छ।

सम्झौता अनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागले नेपाल टेलिकमका सिमकार्ड, चिठीपत्र, कागजात र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्टस् लगायतका सामग्रीहरूको ढुवानी गर्नेछ ।

यस व्यवस्थासँगै अब टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीको सिमकार्ड लगायतका सामग्रीहरू आफ्नै घरदैलोमा हुलाकमार्फत प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभई घरमै सेवा उपलब्ध गराउने कार्यलाई कम्पनीले प्राथमिकता दिएको र यो सहकार्य त्यसका लागि एउटा महत्त्वपूर्ण कदम भएको बताइन् ।

यस्तै, हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्न यो सहकार्यले ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सरकारी स्वामित्वका दुई ठूला संस्थाहरू बीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गर्दै टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १८:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।