इटहरी ।उद्योगी तथा व्यवसायीहरूले सरकारले तत्काल व्यवसायमैत्री नीति अवलम्बन गर्दै लगानी, उत्पादन र निजी क्षेत्रको मनोबल बढाउने गरी ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २६औँ तथा २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले आर्थिक मन्दी, जटिल कर प्रणाली, बैंकको उच्च ब्याजदर र व्यापारमा आएको सुस्तताले निजी क्षेत्र गम्भीर संकटमा परेको बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार उद्यमशीलता र निजी क्षेत्र भएकाले विद्यमान समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उनले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा सरकारले आवश्यक वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीनवर्षे कार्यकालमा संघले सञ्चालन गरेका गतिविधि तथा व्यवसायीका समस्या समाधानका लागि गरिएका पहलबारे जानकारी दिए। उनले संघको नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते निर्वाचन हुने पनि बताए।
संघका उद्योग उपाध्यक्ष विष्णुनारायण डाँगीको संयोजनमा सम्पन्न कार्यक्रममा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन पाण्डे तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले निजी क्षेत्रले भोगिरहेका चुनौती र समाधानका उपायबारे धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै व्यवसायी उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमलकुमार राठी र तुलसा कालाखेतीलाई सम्मान गरिएको थियो।




















प्रतिक्रिया