काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा जानाजानी अवरोध गर्ने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ।
अब बिक्री अवरुद्ध गर्ने पम्पलाई अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना गरिनुका साथै १५ दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्न सकिने कानुनी प्रावधान लागू गरिएको छ।
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनपछि विनियमावली संशोधन गरिएको मन्त्रालयको सचिवालयले जनाएको छ।
बुधबार केही पेट्रोलपम्प बन्द हुँदा देशभर इन्धन बिक्री–वितरण प्रभावित भएपछि सरकारले बिक्रेतामाथि थप कडाइ गर्ने निर्णय गरेको हो।
संशोधित विनियमावलीको दफा २९(घ)(१) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ उपलब्ध नहुने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थप गरिएको छ।
यस प्रावधान उल्लंघन गरे पहिलोपटक तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रोपटक उल्लंघन दोहोरिए छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिने व्यवस्था छ।
तेस्रोपटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गरिने संशोधित विनियमावलीमा उल्लेख छ।




















प्रतिक्रिया