काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी र संसदीय गतिविधिलाई पूर्ण रूपमा डिजिटल माध्यममा लैजाने उद्देश्यसहित ‘PulseRSP’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ।
सो प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न बिहीबार बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ।
पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा सभापति रवि लामिछानेको उपस्थितिमा सांसदहरूलाई PulseRSP प्रणालीको प्रयोग, साइबर सुरक्षा तथा डिजिटल कार्यप्रणालीबारे जानकारी दिइनेछ।
रास्वपाले बैठकमा सबै सांसदको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ। बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि नियमित रूपमा PulseRSP प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
पार्टीका अनुसार सांसदहरूले एकअर्कासँग भेटघाटका लागि यही प्रणालीमार्फत समय माग गर्न सक्नेछन्। संसदमा उठाउने विषयवस्तु, निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट तथा अन्य गतिविधिको विवरण पनि अनिवार्य रूपमा सोही प्रणालीमा राख्नुपर्नेछ।
त्यस्तै, नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव राख्न सक्ने व्यवस्था गरिएको छ। ती गुनासा र त्यसको सम्बोधन प्रक्रियाको ट्र्याकिङ हुने तथा त्यसकै आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने रास्वपाले जनाएको छ।
रास्वपाले डिजिटल प्रविधिमार्फत पार्टीको आन्तरिक व्यवस्थापन, सांसदको उत्तरदायित्व र नागरिकसँगको प्रत्यक्ष सम्पर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ PulseRSP प्रणाली लागू गर्न लागेको जनाएको छ।




















प्रतिक्रिया