Logo

अर्थ

नेपाल एसबीआई बैंकले मनायो ३३औँ स्थापना दिवस



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले स्थापनाको ३३औँ वार्षिकोत्सव मंगलबार मनाएको छ । यस अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रधान कार्यालयसहित सबै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ । साथै, विराटनगरस्थित लक्ष्मीनारायण वेद विद्याश्रमलाई स्मार्ट बोर्ड तथा विराटेश्वर ज्येष्ठ नागरिकमैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यसैगरी, वीरेन्द्रनगरस्थित प्रभात मावि र हरिदिल भूमि माविलाई पनि स्मार्ट बोर्ड प्रदान गरेको छ ।

यसैबिच, बैंकले भर्चुअल र भौतिक उपस्थितिमा कर्मचारीहरूलाई शपथग्रहणसमेत गराएको छ । काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्मचारीहरूलाई शपथग्रहण गराएका हुन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा एक अग्रणी बैंकको रूपमा स्थान कायम राख्न प्रत्येक कर्मचारीले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । बैंकले निरन्तर पालना गर्दै आएका अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासले सुशासनलाई सुदृढ पार्न र सञ्चालन उत्कृष्टता कायम गर्न सफल भएको उनको भनाइ थियो ।

एसबिआई बैंकले तीन वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।