Logo

कर्पोरेट फोकस

कामना सेवा विकास बैंकको नाफामा ३३.५१ प्रतिशत वृद्धि, १५ प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता



काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमै सबैभन्दा पहिले वार्षिक वित्तीय नतिजा सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै सार्वजनिक गरिएको विवरणअनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष १९.०८ रुपैयाँ रहेको ईपीएस बढेर २२.७५ रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार बैंकले कमाएको नाफामध्ये ५६ करोड ७९ लाख रुपैयाँ सेयरधनीलाई वितरणयोग्य रहेको छ। अघिल्ला वर्षको बाँकी वितरणयोग्य नाफासमेत जोड्दा कुल सञ्चित नाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकसँग करिब १५.१६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिएको छ।

बैंकिङ क्षेत्रमा बढ्दो सञ्चालन खर्च, गुणस्तरीय जनशक्तिको अभाव, निष्क्रिय कर्जाको चुनौती तथा कर्जाको कमजोर मागजस्ता प्रतिकूल अवस्थाबीच पनि बैंकले सन्तोषजनक वित्तीय प्रदर्शन गरेको हो।

गत आर्थिक वर्ष बैंकले २ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी केही घटे पनि ब्याज खर्चमा उल्लेख्य कमी आएपछि खुद ब्याज आम्दानी बढेको बैंकले जनाएको छ। वर्षभर बैंकले ५ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ७८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ।

यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ३१ करोड २ लाख रुपैयाँबाट बढेर ३४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानीका लागि बैंकले यस वर्ष १३ करोड ६५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ, जबकि अघिल्लो वर्ष ४१ करोड ८१ लाख रुपैयाँ छुट्याइएको थियो।

सञ्चालन खर्च बढे पनि सञ्चालन आयमा सुधार हुँदा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) ३.४९ प्रतिशतबाट सामान्य बढेर ३.७७ प्रतिशत पुगेको छ। तर पर्याप्त प्रोभिजनिङका कारण खुद निष्क्रिय कर्जा भने ०.५५ प्रतिशतमा सीमित रहेको छ।

पुँजी कोष अनुपात १२.५८ प्रतिशतबाट बढेर १४.१६ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.१९ प्रतिशतबाट बढेर ११.६६ प्रतिशत पुगेको छ। कोषको लागत ५.०९ प्रतिशतबाट घटेर ३.६९ प्रतिशत तथा आधार दर ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ, सीडी रेसियो ८६.३४ प्रतिशत तथा पीई रेसियो २०.८४ रहेको छ। हाल दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता ४७४ रुपैयाँमा कारोबार भइरहेको छ।

गत आर्थिक वर्ष बैंकको निक्षेप ६२ अर्ब ८३ करोड रुपैयाँबाट बढेर ६६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५० अर्ब ७ करोड रुपैयाँबाट बढेर ५४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। बोनस सेयर र ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासनपछि चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। जगेडा कोष पनि १ अर्ब ८३ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तार, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने, प्रविधिमा लगानी बढाउने तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको जनाएको छ। पर्याप्त पुँजी, घट्दो कोषको लागत र सहज तरलताले चालु आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार ०८:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।