काठमाडौं — स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई ‘म्यान मार्किङ’ गर्ने रणनीति नअपनाइने बताएका छन्।
आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा मेस्सीविरुद्ध अपनाइएको ‘म्यान मार्किङ’ रणनीति सफल नभएको अनुभव सुनाउँदै यसपटक सामूहिक रूपमा उनको प्रभाव नियन्त्रण गर्ने योजना रहेको बताए।
डे ला फुएन्टेले युवा प्रशिक्षक रहँदाको एउटा अनुभव सम्झिए। उनका अनुसार, सेभिया र बार्सिलोनाबीचको कोपा डेल रे खेलमा मेस्सीलाई रोक्न विशेष जिम्मेवारी दिइएको थियो। खेल ७०औँ मिनेटसम्म गोलरहित बराबरीमा रहे पनि मेस्सीलाई पछ्याइरहेका खेलाडीले पहेँलो कार्ड पाएपछि परिवर्तन गर्नुपरेको थियो। त्यसपछि मेस्सीले १५ मिनेटभित्र चार गोल गर्दै खेलको नतिजा बदलिदिएका थिए।
‘हामी उनलाई म्यान मार्किङ गर्दैनौं। तर उनीमाथि विशेष ध्यान भने अवश्य दिनेछौं। उनीहरूले पनि हाम्रा खेलाडीलाई त्यत्तिकै ध्यान दिनेछन्,’ उनले भने।
उनले अर्जेन्टिना र मुख्य प्रशिक्षक लियोनल स्कालोनीको खुलेर प्रशंसा गर्दै उनलाई आफ्नो असल मित्रसमेत बताए। ‘अर्जेन्टिनाबारे भन्नुपर्दा प्रशंसा मात्रै छ। उनीहरू उत्कृष्ट टोली हुन्,’ उनले भने।
स्पेनका युवा स्टार लामिन यामाललाई मेस्सीसँग तुलना गर्न नहुने उनको भनाइ थियो। ‘यामालले आफ्नै पहिचान बनाउनुपर्छ। मेस्सी असाधारण खेलाडी हुन् र सबै युवा फुटबलरका लागि प्रेरणा हुन्। तर यामाल आफ्नै शैलीमा अघि बढ्नुपर्छ,’ उनले भने।
स्पेन यस विश्वकपमा उत्कृष्ट लयमा छ। टोलीले प्रतियोगिताभर एक गोल मात्रै बेहोरेको छ भने लगातार ६ क्लिन सिट राख्दै पुरुष विश्वकप इतिहासमै एक संस्करणमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो टोली बनेको छ। अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गर्दै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।
स्पेन लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ। आइतबार अर्जेन्टिनालाई पराजित गर्न सके युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान पनि बनाउनेछ।
उता साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएर फाइनल पुगेको अर्जेन्टिनाले लगातार १४ खेल जितिसकेको छ। टोलीले यस विश्वकपमा ८५औँ मिनेटपछि आठ गोल गर्दै प्रतियोगिताको नयाँ कीर्तिमान पनि बनाएको छ।
स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ अन्तर्राष्ट्रिय भेट भएका छन्। दुवैले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएका छन्। त्यसैले युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको विश्वकप फाइनललाई हालसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक उपाधि भिडन्तमध्ये एकका रूपमा हेरिएको छ।




















प्रतिक्रिया