काठमाडौं — अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को फाइनलअघि टोलीसँग बिताएको यात्रालाई उपाधिभन्दा ठूलो उपलब्धिका रूपमा वर्णन गरेका छन्।
स्पेनसँग आइतबार हुने उपाधि भिडन्तअघि इन्स्टाग्राममार्फत सन्देश साझा गर्दै मेस्सीले राष्ट्रिय टोलीलाई परिवारजस्तो बनाउन योगदान पुर्याएका खेलाडी, प्रशिक्षक र सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका हुन्।
‘यी वर्षहरूको सबैभन्दा सुन्दर पक्ष उपाधि मात्रै होइन, सँगै तय गरेको यात्रा हो। कठिन समयमा एकअर्कालाई साथ दिँदै अघि बढ्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले लेखेका छन्।
आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले नतिजा जे आए पनि वर्तमान अर्जेन्टिनी टोलीले फुटबल इतिहासमा आफ्नो छाप छोडिसकेको उल्लेख गरेका छन्। ‘भोलि जे भए पनि यो टोलीले यस्तो इतिहास लेखिसकेको छ, जसलाई कसैले मेटाउन सक्दैन। अर्जेन्टिना, अघि बढ,’ उनले लेखेका छन्।
न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ।
अर्जेन्टिना सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको हो। एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
स्पेनले भने फ्रान्सलाई २–० ले हराएर फाइनल यात्रा तय गरेको थियो। लामिन यामालको उत्कृष्ट प्रदर्शनमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थपेका थिए।
फाइनलअघि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले दुवै टोलीको आक्रामक शैलीका कारण उपाधि भिडन्त उच्चस्तरीय र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले उपाधि जित्न आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्। उनले स्पेनको खेल शैलीको विस्तृत अध्ययन गरिएको उल्लेख गर्दै अर्जेन्टिना फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताए। स्कालोनीले ३९ वर्षको उमेरमा पनि अर्को विश्वकप फाइनल खेल्न लागेका मेस्सीलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एकको संज्ञा दिएका छन्।




















प्रतिक्रिया