काठमाडौं — जर्मनीका पूर्व मिडफिल्डर टोनी क्रुसले फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जित्ने अनुमान गरेका छन्। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनामाथि बाजी मार्ने विश्वास उनले व्यक्त गरेका हुन्।
स्पेनिस सञ्चारमाध्यम मार्का ले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ को विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र सन्तुलित टोली संरचनालाई उपाधिको प्रमुख आधार मानेका छन्।
रियल म्याड्रिडमा एक दशक बिताएका क्रुस स्पेनिस फुटबल र वर्तमान टोलीका धेरै खेलाडीसँग परिचित छन्। उनका अनुसार स्पेनको मिडफिल्ड नियन्त्रण, टोलीगत सन्तुलन र अनुशासित खेलशैली यस विश्वकपका सबैभन्दा प्रभावशाली पक्ष हुन्।
स्पेनले प्रतियोगितामा हालसम्म एक गोल मात्र बेहोरेको छ। समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएर फाइनल यात्रा तय गरेको हो। यसक्रममा स्पेन पुरुष विश्वकपको एउटै संस्करणमा ६ क्लिनसिट राख्ने पहिलो टोली पनि बनेको छ।
स्पेन लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ। फाइनलमा अर्जेन्टिनालाई पराजित गर्न सके उसले दोस्रो विश्वकप उपाधिसँगै युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान पनि बनाउनेछ।
उता अर्जेन्टिना पनि उत्कृष्ट लयमा फाइनल पुगेको छ। प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो। अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ। टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ।
अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल भएका छन्। दुवैले ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा उनीहरूको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिना २–१ ले विजयी भएको थियो। पछिल्लो भेट भने सन् २०१८ को मैत्रीपूर्ण खेलमा भएको थियो, जसमा स्पेनले ६–१ को जित निकालेको थियो।




















प्रतिक्रिया