काठमाडौं — अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले फिफा विश्वकप २०२६ को फाइनलअघि टोलीको एकता र आपसी सम्बन्धलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बताएका छन्।
स्पेनसँग आइतबार न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने उपाधि भिडन्तअघि सामाजिक सञ्जाल एक्समा टोलीको तस्बिर सार्वजनिक गर्दै उनले अर्जेन्टिनी टोलीभित्रको सम्बन्ध र समर्पणप्रति गर्व व्यक्त गरेका हुन्।
‘यो असाधारण समूह हो। टोलीभित्रको मानवीय सम्बन्धलाई शब्दमा व्यक्त गर्न सकिँदैन। सबैले राष्ट्रिय टोलीका लागि हरेक सानो–ठूलो पक्षमा आफ्नो शतप्रतिशत दिएका छन्।
पहिलो दिनदेखि जस्तै भोलि पनि हामी एकसाथ हुनेछौं। यो टोलीको हिस्सा बन्न पाउनु विशेष अवसर हो। अगाडि बढौं अर्जेन्टिना,’ उनले लेखेका छन्।
म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेज अर्जेन्टिनाको विश्वकप यात्रामा प्रमुख रक्षकका रूपमा रहेका छन्। उनले सातमध्ये ६ खेलमा पहिलो रोजाइमा स्थान बनाएका छन्।
इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि उनले ७२ मिनेट खेल्दै टोलीको २–१ को जितमा योगदान दिएका थिए। क्रिस्टियन रोमेरोसँगको उनको साझेदारीले अर्जेन्टिनाको रक्षापंक्तिलाई मजबुत बनाएको छ।
लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिना १४ खेलको लगातार जितको लयमा फाइनलमा प्रवेश गर्दैछ।
नकआउट चरणका चारै खेलमा टोलीले दबाबपूर्ण अवस्थामा पुनरागमन गर्दै वा खेलको अन्त्यतिर निर्णायक गोल गर्दै जित निकालेको थियो।
उता स्पेन पनि उत्कृष्ट लयमा छ। प्रतियोगिताभर उसले एक गोल मात्रै बेहोरेको छ भने एउटै विश्वकप संस्करणमा ६ क्लिनसिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ।
समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले लगातार ६ खेल जित्दै फाइनल यात्रा तय गरेको हो।
अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल भएका छन्। दुवैले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएका छन्। त्यसैले कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीचको विश्वकप फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया