Logo

समाचार

विश्वकप फाइनल खेलमा रंगशाला वरपर ‘नो फ्लाई जोन’



न्यु जर्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।

स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ।

न्यु जर्सीमा आयोजना हुने फाइनल खेल ट्रम्पले प्रत्यक्ष हेर्न लागेको पहिलो विश्वकप खेल हुनेछ। यद्यपि, प्रतियोगिताका क्रममा उनको संलग्नता र भूमिकाले यसअघि नै चर्चा र विवाद निम्त्याएको थियो।

अन्तिम १६ चरणअघि अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथि भएको रातो कार्ड र त्यसपछिको निलम्बनका विषयमा ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो। उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताइएको थियो।

ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सफल प्रतियोगितामध्ये एक भएको दाबी गर्दै आएका छन्। प्रतियोगिताले अमेरिकामा फुटबलको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

फाइनल खेलमा ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प र मेलानियाका पिता भिक्टर नाभ्स पनि उपस्थित हुनेछन्।

यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल अवलोकन गर्न पुग्ने कार्यक्रम छ।

विश्वकपका सहआयोजक राष्ट्रमध्ये मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने जनाइएको छ।

ट्रम्पको उपस्थितिलाई ध्यान दिँदै न्यु जर्सीस्थित रंगशाला आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उनको आगमनका बेला रंगशाला क्षेत्रको हवाई क्षेत्रलाई केही समयका लागि ‘नो–फ्लाइ जोन’ घोषणा गरिने तयारी छ।

दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्प र फिफा अध्यक्ष इन्फान्टिनोबीचको सम्बन्ध थप नजिकिएको छ।

ट्रम्पले सन् २०२६ को विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले पाउनु आफ्नो प्रशासनको उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्प ट्रफी हस्तान्तरणपछि विजेता टोलीसँगै मञ्चमा बसेका थिए।

उक्त घटनाले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको थियो। पछि उनले ट्रफी ह्वाइट हाउसमा राखिएको बताएका थिए।

तर, फिफाले ह्वाइट हाउसमा राखिएको ट्रफी सक्कली नभई प्रतिकृति भएको स्पष्ट पारेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।