Logo

प्रमुख समाचार

प्रचण्ड र केपी ओलीबीच (वाकयुद्ध) भनाभन, यस्तो छ दुई अध्यक्षको जुहारी



भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका पक्षधर राष्ट्रले गरिरहेको हस्तक्षेपप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरेर कडा विरोध जनाए । सत्तारढ पार्टीका अध्यक्षको उक्त विज्ञप्तिलाई लिएर पक्ष र विपक्षमा चर्का बहस भए । अझै भइरहेका छन् ।

अमेरिकाले न्यूयोर्कस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई आफ्नो परराष्ट्र मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोध्यो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री सहभागी कुटनीतिज्ञहरुको भेला बहिस्कार गरे । प्रचण्डको विज्ञप्तिकै लाइनमा परराष्ट्र मन्त्रालयले विज्ञपित जारी गरेर भेनेजुयलामा भएको अन्तर्राष्ट्रिय हस्तक्षेप स्वीकार्य नरहेको स्पष्ट ग-यो ।

केही दिनअघि सम्पन्न नेकपाको बैठकले प्रचण्डको वक्तव्यलाई अनुमोदन गरेको थियो । तर, सेलाई सकेको उक्त प्रकरण नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले फेरि उठान गरेपछि बहस पुनः बल्झिएको छ । प्रचण्डको वक्तव्यमा प्रयोग भएका भाषा सही नभएको बताएका छन् । यस्तै उनले आफू विदेश भएका बेला हतारमा विज्ञप्ति जारी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रचण्डको ‘वड स्लिल’ भएको टिप्पणी ओलीको छ । यही सन्दर्भमा बिहीबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो विज्ञप्तिको बचाउ गरेका छन् । उनले आफ्नो विज्ञप्तिबारे ओलीसमेत सहभागी सचिवालय बैठकले सही भएको निस्कर्ष निकालेको तथा आफ्नो वर्ड स्लिप भएको वा अरु कसैको उक्सहटमा त्यसो गरेको भन्ने टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

भेनेजुयला प्रकरणबारे केपी ओलीले के भने ?

वक्तव्यको प्रसंगबाट यतिधेरै तरंग आएको छ अथवा ल्याइएको छ, यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएकै हो, म भोलिपल्ट आउँदै थिएँ । अघिल्लैदिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । जुन भाषा प्रयोग भयो त्यो भाषा पनि अलि उपयुक्त भएन । त्यसले एउटा तरंग ल्यायो । तर, कुनै एकजना साथीले एउटा वक्तव्य दिनुभयो त्यसकै पछाडि देश÷देशबीचका सम्बन्ध र राष्ट्र राष्ट्रबीचका सम्बन्धहरू अडेका पनि हुँदैनन् ।

यस्ता उतावचडावहरू, स–साना घटनाहरू कहिलेकाहीँ जानेर नजानेर गर्दै गर्दा हुँदै गर्छन् । युद्धको घोषणा त गरिएको छैन त्यहाँ । फेरि अमेरिका यत्रो विशाल र सबल देश हो जहाँ सानासाना जिव पनि बस्छन् । धैरै ठूलो जीवको टाउकामा कुनै सानो जीव बस्यो भने त्यसले थाहा नै पाउँदैन । अमेरिका त्यत्रो देशले यस्ता स–साना कुरामा अल्झिराख्नु बान्छनीय पनि हुँदैन र अल्झिने कुरा पनि छैन ।

सम्बन्ध बिग्रियो यस्तो भयो, उस्तो भयो भन्ने कुरा छ त्यस्तो केही होइन । अलिकति आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने त हामीहरू जस्तो सानो देशलाई अर्को कुनै देशको अंग होइन र भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ? त्यसकारण यस्ता स–साना स्लिप भएका कुराहरू, त्यसरी ठूला देशहरूका पनि हुन्छन् हामीले देखिरहेका छौँ । त्यसैले एकथरी मान्छेले भयाभह तरिकाले चित्रण गर्न खोजिरहेका छन् त्यस्तो होइन । सम्बन्ध सप्रिएकै छन्, सप्रिँदै जानेछन् ।

(जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओली)

ओलीको काउण्टरमा प्रचण्डले यसो भने

भेनेजुएला प्रकरणमा निकालेको वक्तव्यमा म चिप्लिएको छैन । भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप गलत छ । त्यसको विरोधमा निकालेको वक्तवक्य सही छ । त्यसबारे पार्टीको औपचारिक बैठकले र सरकारले समेत विज्ञप्ति जारी गरेर स्पष्ट गरिसकेको हो । पार्टी र सरकारको धारणा त्यसमा एउटै छ ।

पार्टीको तर्फबाट आएको वक्तव्य आधिकारिक हो ।

प्रधानमन्त्रीजीबाट विज्ञप्तिमा शब्द चिप्लिएको टिप्पणी आएको भन्ने सुनें । पार्टीको सचिवालयले त्यही विज्ञप्ति जारी गरेपछि अब व्यक्तिले के भन्ला भन्ने कुराले अर्थ राख्दैन । एउटा सार्वभौम राष्ट्रको राजनीतिक घटनाक्रममा हस्तक्षेप भयो भन्ने हिसाबको वक्तव्य थियो । प्रधानमन्त्रीले के सन्दर्भमा भन्नु भएको हो त्यो थाहा भएन ।

भेनेजुएलाका राष्ट्रपति निकोलस माद’रो र त्यहाँको आन्तरिक राजनीतिमा अमेरिका र उसको गठबन्धनले हस्तक्षेप गर्नु गलत हो । त्यसबारे पार्टीको तर्फबाट जे वक्तव्य आयो त्यही नै आधिकारिक र स्वतन्त्र हो । नेपालको शान्ति प्रकृयाको विषयमा कुटनीतिक मर्यादाविपरित राजदूतहरुले वक्तव्य दिएका छन् ।शान्ति प्रकृयाको बाँकी काम अगाडि बढाउन प्रतिपक्षी दलसमेत सहमत भएको अवस्थामा बाह्य मुलुकले हस्तक्षेप गर्नु निन्दनीय हो ।

(प्रेस चौतारी र प्रेस सेन्टरले भरतपुर विमानस्थलमा बिहीबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले दिएको अभिव्यक्ति)

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।