प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था गर्न पार्टीको विधानमै राख्न दवाव परेको छ ।सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहका जनाधार नभएका नेताहरू महासमिति बैठकमा गरिएको प्रतिबद्धताविपरीत स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पक्षमा देखिएका छन् ।
केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर र वीरबहादुर बलायर, रामकृष्ण यादव र कल्याण गुरुङले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राख्नुपर्ने लबिङमा लागेका छन् । उनीहरूलाई कांग्रेसभित्र जनाधार नभएका नेताहरूका रुपमा लिइन्छ ।
महासमिति बैठकमा पेस भएको विधानको मस्यौदामा उल्लेख रहेको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई यसअघि केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेकाले विधानमा त्यही व्यवस्था उल्लेख गर्नुपर्ने उनीहरूको भनाइ छ ।यस्तो धारणा राख्नेमध्ये बलायर प्रदेश कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अन्य सबै आरक्षण कोटाबाट केन्द्रीय समितिमा प्रवेश पाएका नेता हुन् ।
बलबहादुर केसी र गुरुराज घिमिरेले बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाको विरोधमा देखिएका छन् । चन्द्र भण्डारी, डा. नारायण खड्का र हृदयराम थानीले आफूहरूले नेताले जे निर्णय गर्छन् त्यो मान्न तयार रहेको भन्दै बच्न खोजेका छन् ।
महासमिति बैठक समापन समारोहमा सभापति देउवा र नेता पौडेलले जिल्ला सभापतिले उठाएको माग केन्द्रीय सदस्य तलैबाट निर्वा्चित भएर आउने व्यवस्था र समानुपातिक समावेशीलाई एकपटक मात्रै राख्ने व्यवस्था विधानमा राख्ने प्रतिबद्धता जनाएका थिए ।नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले तलैबाट निर्वाचित भएर आउने व्यवस्था विधानमा राख्न सकारात्मक रहेको बताएका थिए ।
डा. शेखर कोइराला र गगन थापाले भने सभापति र नेताले महासमिति बैठक समापन समारोहमा जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।केन्द्रीय सदस्य डा.कोइरालाले केन्द्रीय समितिमा रहेका सबै बुथबाटै आउनुपर्ने व्यवस्था राख्नुपर्ने बताए ।
प्रतिक्रिया