Logo

विविध

निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए :एनआरएनए



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर), जो पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित छ, सोही हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत हुनुहुन्थ्यो।

एक गैरआवासीय नेपालीका रूपमा उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरूको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गर्नुभएको थियो।’

विज्ञप्तिमा उनको असामयिक निधनसँग गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको उल्लेख गरिएको छ।

‘उहाँको ‘असम्भवलाई सम्भव बनाउने’ सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

गैरआवासीय नेपाली संघले निर्मल ‘निम्सदाइ’ पुर्जासहित उक्त दुःखद घटनामा ज्यान गुमाएका छ जना नेपाली तथा चार जना विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार ०७:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।