काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले सांसदहरूलाई कानुनभन्दा माथि राख्न खोजेको र संवैधानिक निकायहरूलाई दबाबमा पारेको आरोप लगाए ।
प्रवक्ता चालिसेले नियमावलीमार्फत सांसदहरूलाई अन्य कानुनभन्दा माथि बनाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरे । उनले सुशासनका लागि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई राजनीतिक दबाबमा राखेर सरकारले भ्रष्टाचार लुकाउन खोज्दैछ,’ उनले भने ।
यस्तै, अदालतबाट निर्णय दिने व्यक्तिलाई तत्काल सम्मान वा पुरस्कार दिनुले नैतिक प्रश्न उठ्ने भन्दै उनले न्यायपालिकाको गरिमा जोगाउन आग्रह गरे ।
सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोडिएका विषयहरू समाजमा सधैं जीवित रहने उनको भनाइ थियो । ‘केही मुद्दाहरू यस्ता हुन्छन्, जसको महत्व न समयले घटाउन सक्छ, न सरकारी प्रयासले छोप्न सक्छ,’ प्रवक्ता चालिसेले भने । कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने चाहना नराखेको स्पष्ट पार्दै सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा बलियो र स्थिर बन्नुपर्ने आफ्नो धारणा दोहोर्याएको छ ।
‘हामी सरकारको अस्थिरता चाहँदैनौं । सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी होइन,’ प्रवक्ता चालिसेले भने ।
उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला भने मौन बस्न नसकिने बताए । ‘हामी कुनै पनि दलको आन्तरिक विषयमा टिप्पणी गर्न चाहँदैनौं । तर, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा हामी मौन रहन सक्दैनौं,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेसले सरकारलाई आफ्ना स्वेच्छाचारी निर्णयहरू सच्याउन र संविधानको सीमाभित्र रहेर कार्यसम्पादन गर्न चेतावनी समेत दिएको छ ।




















प्रतिक्रिया