Logo

अनलाइनपाना खोज

राष्ट्र बैंकका निर्देशक नै निजी बैंकका ‘सूचनादाता’



काठमाडौँ । नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले नियमनको नाममा गोप्य सूचना चुहाएर निजी बैंकलाई फाइदा पुर्याउने गरेको आरोप पटकपटक सार्वजनिक हुँदै आएको छ ।

निरीक्षण (इन्स्पेक्सन) का क्रममा अवैध लाभ लिन कठिन भएपछि केही अधिकारीले बैंकका कर्मचारीमाथि समेत शंकाको दृष्टि राख्ने गरेको देखिएको छ । गुनासो तथा सूचना दिन खोज्ने पत्रकारको सम्पर्कबारे समेत आँफैले निरीक्षण गरिरहेको बैंक व्यवस्थापनलाई जानकारी गराइएको घटनाले राष्ट्र बैंकभित्रको गोपनीयतामाथि प्रश्न उठाएको छ ।

यसअघि पनि राष्ट्र बैंकका कर्मचारीबाट निजी बैंकमा सूचना चुहिने गरेको गुनासो आउने गरेको थियो । पछिल्लो घटनामा राष्ट्र बैंकका एक निर्देशकले नै प्रभु बैंकको व्यवस्थापनलाई सूचना दिएको बिषय बाहिरिएको छ।

घटना जुन १८, २०२६ को हो ।

त्यो दिन अरूका समस्या सुन्ने, बैंक तथा वित्तीय संस्थाका बेथिति र कर्मचारीसँगै नियामक निकायकै बदमासीबारे कलम चलाउने एक पत्रकार आफैं आफ्नो गुनासो लिएर नेपाल राष्ट्र बैंक पुगेकी थिइन् । राष्ट्र बैंक पुगेपछि उनले आफूले गुनासो रहेको प्रभु बैंक लिमिटेडमा निर्देशक सुवासचन्द्र घिमिरेको नेतृत्वमा निरीक्षण (इन्स्पेक्सन) टोली पुगेको जानकारी पाइन् ।
त्यसपछि उनले आफ्नो व्यक्तिगत समस्यासँगै प्रभु बैंकभित्र भएका केही अनियमितताबारे पनि निरीक्षण टोलीले ध्यान दिओस् भन्ने उद्देश्यले निर्देशक घिमिरेलाई मोबाइलमा फोन गरिन् । तर, घिमिरेले फोन उठाएनन् ।

फोन गरेको केहीबेरमै ती पत्रकारलाई प्रभु बैंकका एक वरिष्ठ अधिकृतको फोन आयो ।

‘म्याडम, तपाईंले सुवास सरलाई फोन गर्नुभएको रहेछ। तपाईंको फोनपछि बैंकभित्र हङ्गामा भएको छ । हामीमाथि केरकार भइरहेको छ,’ ती अधिकृतले भने । यो कुरा सुनेपछि उनी छक्क परिन् ।

‘मैले राष्ट्र बैंकका एक अधिकारीलाई गरेको फोनको जानकारी प्रभु बैंकका कर्मचारीसम्म कसरी पुग्यो ? फोन नै नउठेको अवस्थामा मेरो एउटा मिस्ड कलले बैंकभित्र कसरी हङ्गामा मच्चायो ?’ उनका मनमा एकपछि अर्को प्रश्न उब्जिन थाले ।

घिमिरेले फोन नउठाएपछि उनले व्हाट्सएपमा छोटो सन्देश पठाएकी थिइन् – ‘प्रभु बैंकको इन्स्पेक्सनमा जानुभएको रहेछ । केही विषय शेयर गरौँ भनेर सम्पर्क गरेको हो । Please don’t think otherwise.´तर, त्यो सन्देश पठाउनुअघि नै घटनाले अर्कै मोड लिइसकेको रहेछ ।

पत्रकारको फोन आएको जानकारी निर्देशक घिमिरेले त्यही बेला प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई गराइसकेका रहेछन् । त्यतिबेला निरीक्षण टोली र बैंक व्यवस्थापनबीच बन्द कोठामा छलफल चलिरहेको थियो ।

घिमिरेले ‘हामी बैंकको सुपरिवेक्षण गर्न आएको कुरा पत्रकारलाई कसरी थाहा भयो ? गोप्य सूचना कसले चुहायो ?’ भन्दै आशंका व्यक्त गरेपछि वास्तविकता नबुझीकनै सीइओ शर्माबाट कर्मचारीमाथि स्पष्टीकरण माग्ने र केरकार गर्ने क्रम सुरु भएको थियो ।

ती पत्रकारलाई पछि थाह भयो कि, आँफुलाई प्रभु बैंकका वरिष्ठ अधिकृतले गरेको फोन पनि सीईओबाट कर्मचारीहरू झपारिएपछि आएको थियो ।

वास्तवमा निर्देशक घिमिरेलाई गरिएको त्यो फोन पहिलो पटक भने थिएन ।

ती पत्रकारले यसअघि पनि विभिन्न बैंकमा राष्ट्र बैंकको निरीक्षण भइरहेका बेला आफूलाई जानकारी भएका विषयहरू सम्बन्धित निरीक्षण टोलीसँग साझा गर्ने, सुपरिवेक्षणका क्रममा भेटिएका कैफियतबारे जिज्ञासा राख्ने तथा आवश्यक सूचना उपलब्ध गराउने गर्दै आएकी थिइन् । उनको मुख्य जिज्ञासा हुन्थ्यो-‘निरीक्षणका क्रममा गम्भीर कैफियत भेटिए पनि किन विभिन्न बहानामा सुपरिवेक्षकीय कारबाही कमजोर बनाइन्छ वा पन्छाइन्छ ?’ तर, यस प्रकारको निरीक्षणको प्रतिवेदन कहिल्यै सार्वजनिक गरिँदैन ।’

यसबारे ती पत्रकारले निर्देशक घिमिरेकै कार्यकक्षमा पुगेर मिस्ड कललाई किन अतिरन्जित गर्नुभयो ? भनेर सोधेकी पनि थिइन्। तर, जवाफमा ‘ मेरो मोबाइलमा तपाइको कल आएको सीइओले देखे होलान् त्यसैले भनेपछि यो बिषय सेलाएको थियो।

तर, सोहि सुपरिवेक्षणको सूचना कर्मचारीले चुहाएको गलत आरोप लगाउँदै बैंकका उच्च तहका एक कर्मचारीलाई सजाय स्वरूप घटुवा गरी अप्राकृतिक तरिकाले सुदूरपश्चिम सरुवा गरेपछि यो घटनाको वास्तविकता सतहमा आएको हो।

यहाँ सूचना कसले चुहायो भन्ने मात्र बिषय प्रमुख होइन्। बिषय बैंकमाथि हुने इन्स्पेक्सन र यसको पारदर्शिता एवम् जिम्मेवार कर्मचारीको गैरजिम्मेवारीपूर्ण व्यवहार पनि हो।

राष्ट्र बैंकका जिम्मेवार अधिकारीहरुबाट सूचना चुहिएको बिषय नौलो र पहिलो होइन। यसअघि पनि बैंक सुपरिवेक्षण विभागका प्रमुख स्वयम् ले प्रभु बैंककै तत्कालीन सीइओलाई पत्रकारले दिएका सूचना चुहाएर सजग गराएको बिषय हामीले उजागर गरेका थियौँ

सुपरिवेक्षणकै क्रममा रहेका समयमा इन्स्पेक्सन अधिकारीहरु संस्थामा भेटिएका कैफियतबारे बोल्न मिल्दैन। तर, सार्वजनिक संस्थाका कैफियतमाथि कारबाही गर्ने, सो कारबाहीको बिषय सार्वजनिक गर्ने निकाय राष्ट्र बैंक नै हो। सार्वजनिक निकायमाथि राष्ट्र बैंकका काम कारबाहीबारे जान्ने अधिकार आम सर्वसाधारणलाई समेत छ।

उठ्दै नउठेको अर्थात् ‘मिस्ड कल’ देखि सुपरिवेक्षण अधिकृत घिमिरे किन यति धेरै तर्सिए ?  पत्रकारको फोन कलबारे बुझ्दै नबुझी आफ्नै धारणा किन बनाए ?  पत्रकारको कलबारे बैंकका सीईओलाई  ब्रिफिङ आवश्यक थियो ?  यसका पछाडि बैंकसँग उनको स्वार्थ के हो ? के राष्ट्र बैंकले बैंकसँग सल्लाह गरेर कैफियत प्रतिवेदन लेख्ने हो ?

यी यावत प्रश्न यतिबेला सूचना चुहाउने सुपरिवेक्षण अधिकारी तथा नियामक निकाय राष्ट्र बैंकमाथि समेत उठिरहेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १९:४६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।