Logo

प्रमुख समाचार

डा. नुतनमाथिको आरोपमा नयाँ तथ्य सार्वजनिक: नाबालिग भनिएकी युवतीकाे उमेर ‘एकाइस वर्ष’



काठमाडौं । नाबालिगको डिम्ब निकालिएको भनिएको प्रकरणमा नयाँ खुलासा भएको छ। पीडित भनिएकी युवतीले २१ वर्षको नागरिकता देखाएर उपचार गरेको तथ्य बाहिरिएसँगै यश नाबालिग प्रकरणमा डा. नुतनलाई फसाइएको आशंका गरिएको छ।

आरोपित बनाइएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा स्वयंले पनि आफूले कुनै गैरकानुनी काम नगरेको र सेवाग्राहीले पेस गरेको २१ वर्ष उमेर खुलेको आधिकारिक कागजातका आधारमा उपचार गरिएको दाबी गरेकी छन्।

देशबाहिर रहेका कारण यसअघि उपस्थित हुन नसकेको बताएकी डा. शर्मा नेपाल फर्किएपछि साउन २० गते स्वेच्छिक रूपमा जिल्ला प्रहरी परिसर ललितपुरमा उपस्थित भएकी थिइन्। उनले अनुसन्धानमा सहयोग गर्ने निवेदनसहित प्रहरीसमक्ष पुगेर सरकारी वकिलको रोहबरमा बयान दिएकी हुन्।

अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी नभएको र आफैं अनुसन्धानमा सहयोग गर्न उपस्थित भएको भन्दै बयानपछि उनलाई हाजिरी जमानतमा छाडिएको छ।
सरकारी वकिलको कार्यालय ललितपुरका सहायक न्यायाधिवक्ता भरतकुमार मैनालीले डा. शर्मा स्वयं निवेदन लिएर उपस्थित भएको र बयान गराएपछि छाडिएको बताएका छन्। उनका अनुसार प्रकरणको अनुसन्धान भने अझै जारी छ।

डा. शर्माले आफूसँग उपचारका लागि आउने व्यक्तिको उमेर प्रमाणीकरण तथा कागजात व्यवस्थापन सम्बन्धित कर्मचारीले गर्ने भए पनि प्रस्तुत प्रकरणमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख भएको नागरिकताको कागजात नै संस्थाको अभिलेखमा रहेको बताएकी छन्।

“हामीलाई उपलब्ध गराइएको कागजातमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख छ। त्यही कागजातका आधारमा प्रचलित चिकित्सा प्रक्रिया अपनाइएको हो,” डा. शर्माले भनिन्, “मैले कुनै गैरकानुनी काम गरेकी छैन। वास्तविक तथ्य नबुझी घटनालाई नाबालिगसँग जोडेर दुष्प्रचार गरिएको छ।”

यससँगै अनुसन्धानको महत्त्वपूर्ण पाटो सेवाग्राहीका नाममा पेस गरिएको कागजात वास्तविक थियो वा थिएन तथा गलत उमेर खुलाइएको कागजात कसले र कुन उद्देश्यले उपलब्ध गराएको थियो भन्नेमा केन्द्रित भएको छ। यदि उपचारका क्रममा २१ वर्ष उमेर खुलेको कागजात पेस गरिएको पुष्टि भएमा वास्तविक उमेर लुकाउने पक्षको भूमिका अनुसन्धानको मुख्य विषय बन्ने देखिन्छ।

प्रारम्भिक विवरणले चिकित्सकले अस्पतालमा उपलब्ध अभिलेख र कागजातमाथि विश्वास गरेर प्रक्रिया अगाडि बढाएको हुनसक्ने सम्भावना देखाएको छ। यसले डा. शर्मालाई गलत विवरण उपलब्ध गराएर विवादमा तानिएको त होइन भन्ने प्रश्नसमेत उठाएको छ। यद्यपि यसबारे प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन।

प्रहरीसमक्ष दिएको बयानमा समेत डा. शर्माले सेवाग्राही नाबालिग भएको जानकारी आफूलाई नभएको स्पष्ट पारेकी छन्। उमेर तथा पहिचानसम्बन्धी कागजात जाँच गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको भएको उनको भनाइ छ।

यसअघि पीडित भनिएकी किशोरीका परिवारले आर्थिक प्रलोभन देखाएर डिम्ब निकालिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। परिवारको जाहेरीपछि ललितपुर प्रहरीले मानव बेचबिखन तथा अंग प्रत्यारोपणसम्बन्धी कानुनी प्रावधान आकर्षित हुने वा नहुने विषयमा अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरेको थियो। उनलाई पनि सरकारी वकिलको निर्देशनमा हाजिरी जमानतमा छाडिएको छ।

प्रहरीले डा. शर्मा र गोतामेबीचको ह्वाट्सएप संवाद तथा बैंक कारोबारको विवरण संकलन गरेको बताएको छ। रकम हस्तान्तरण भएको देखिए पनि त्यसको उद्देश्य, स्रोत र प्रयोगबारे अन्तिम निष्कर्ष निकाल्न बाँकी छ। बैंक कारोबार देखिएकै आधारमा कसुर प्रमाणित नहुने भएकाले त्यसलाई अन्य प्रमाण र घटनाक्रमसँग जोडेर अनुसन्धान गर्नुपर्ने हुन्छ।

डा. शर्माले आफू अनुसन्धानबाट नभागेको र स्वदेश फर्किएलगत्तै सम्बन्धित निकायमा उपस्थित भएर बयान दिएको बताएकी छन्। उनले आफूसँग भएका कागजात तथा उपचारसम्बन्धी अभिलेख अनुसन्धान अधिकारीलाई उपलब्ध गराएको जनाएकी छन्।

प्रहरीले उमेर खुल्ने कागजातको आधिकारिकता, अस्पतालमा दर्ता प्रक्रिया, उपचारका लागि दिइएको सहमति, रकम कारोबार र घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिएकाले डा. शर्मामाथि लागेको आरोप पुष्टि भइसकेको अवस्था छैन।

प्रकरणको अन्तिम सत्य अनुसन्धान तथा न्यायिक परीक्षणबाट निर्धारण हुनेछ। तर डा. शर्मा आफैं उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नु, उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी नहुनु र अस्पतालको अभिलेखमा २१ वर्ष उमेर खुलेको कागजात रहेको उनको दाबीले घटनालाई एकपक्षीय रूपमा चिकित्सकको दोषसँग मात्र जोड्न नमिल्ने देखाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार १३:११   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।