काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय तथा ठूला करदाता २० कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए ।
उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट नीति लिएको उल्लेख गरे । ‘हामीले यस वर्षको बजेटमार्फत एउटा स्पष्ट सन्देश दिएका छौँ। सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ । हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता अब कर संकलनमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनेतर्फ केन्द्रित रहेको बताए ।
उद्योगले नाफा कमाएपछि पुनःलगानी हुने, पुनःलगानीबाट उत्पादन र रोजगारी बढ्ने तथा आम्दानी र बजार विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत वृद्धि हुने उनको भनाइ थियो ।
उनले भने, ‘जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ । पुनःलगानीले उत्पादन बढाउँछ । उत्पादनले रोजगारी सिर्जना गर्छ । रोजगारीले आम्दानी बढाउँछ । आम्दानीले बजार विस्तार गर्छ । अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ । त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन; दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ।’
अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए ।
लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य आफूहरूको साझेदारका रूपमा उभिएको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
‘नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ,’ उनले भने ।
उनले नेपालमा थप लगानी गर्न, सञ्चालनमा रहेका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, नयाँ प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न लगानीकर्तालाई आग्रह गरे ।
सरकार लगानीकर्ताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले व्यवसाय विस्तारका क्रममा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्रबाट स्पष्ट सुझाव आवश्यक रहेको बताए ।
उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न निजी क्षेत्रसँग आग्रह गरे ।
आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णयबारे समेत लगानीकर्तासँग सुझाव माग गरिएको उनले बताए ।
अर्थमन्त्री वाग्लेले छलफललाई केवल सुझाव संकलनमा सीमित नगरी समाधानको कार्यसूची बनाउने उद्देश्य रहेको स्पष्ट पारे । ‘आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु। यहाँ उठेका प्रत्येक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुनेछ,’ उनले भने ।
अर्थ मन्त्रालयले उठाइएका विषयको निरन्तर अनुगमन गर्ने र समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने पनि उनले बताए ।
अर्थमन्त्रीका अनुसार हालै उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयको मात्र प्रयासबाट सम्भव नहुने निष्कर्ष आएको छ ।





















प्रतिक्रिया