नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीले आयोजना गरेको ‘जनयुद्ध दिवस’को कार्यक्रममा सहभागी नहुने भएका छन् ।
नेकपाले भोलि बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा ओली सहभागी नहुने भएका हुन् । कार्यक्रमको प्रमुख अतिथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन् ।
नेकपा केन्द्रीय कार्यालयले आयोजना गर्न लागेको कार्यक्रमको नाम ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रृद्धाञ्जली’ राखिएको छ । ओली यसअघि पनि जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएका छैनन् ।
तत्कालीन एमालेका अध्यक्ष ओली माओवादीको कट्टर आलोचक थिए । तर, समयक्रमले त्यही माओवादीसँग पार्टी एकता भएर उनी अहिले एकीकृत पार्टीको अध्यक्ष छन् । यद्यपी, जनयुद्ध दिवसको कार्यक्रममा भने नजाने भएका छन् । यसलाई पूर्वमाओवादी वृत्तले चासोका साथ हेरेको छ ।
दुई पार्टी एकताको प्रक्रिया चलिरहेका बेला अघिल्लो वर्ष पनि तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा ओलीलाई निम्तो दिइएको थियो । अन्तिम समयमा आएर उनी कार्यक्रममा अनुपस्थित हुन पुगेका थिए ।
पार्टीको दस्तावेजमा जनयुद्धको साटो सशस्त्र संघर्ष लेखेको नेकपाले तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिन फागनु १ को स्मरणमा दिवस मनाउन लागिएको हो । तर, माओवादीसँग पार्टी एकता गरिसकेपछि पनि ओली जनयुद्धप्रति असहमत छन् वा अघोषित बहिष्कार हो ?
यता, नेकपा र प्रधानमन्त्रीको सचिवालयले भने यसमा कुनै शंका नगर्न आग्रह गरेको छ । भोलि केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको कार्यक्रमकै समयमा अर्काे कार्यक्रम भएको हुनाले प्रधानमन्त्रीले नभ्याउने भएको उनको सचिवालयले जनाएको छ । नेकपाले पनि यो कुरालाई पुष्टि गरेको छ ।
‘यसमा शंका मान्नुपर्ने कुनै कारण नै छैन, प्रधानमन्त्रीज्यूको पूर्वनिर्धारित कार्यक्रम भएको हुनाले उपस्थित हुन नसक्ने कुरा हो’, नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अर्का अध्यक्ष प्रचण्ड जानुहुनेछ । यसलाई उचाल्नुपर्ने कुरै छैन ।’
भोलि बिहान राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्नेछन् । धुम्बाराहीमा साढे १० बजे कार्यक्रम छ भने सभागृहको कार्यक्रम साढे ११ बजे छ ।
प्रतिक्रिया