Logo

प्रमुख समाचार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन



काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार बाढी नेपाल प्रवेश गरेको करिब आधा घण्टापछि गल्छीसम्म पुगेको जानकारी प्राप्त भएको हो ।

महतका अनुसार बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका टावरमा क्षति पुगेकाले सञ्चार सम्पर्क प्रभावित भएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी टावर मर्मतको काम भइरहेको उनले जानकारी दिइन् ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन । केही स्थानमा उद्धार आवश्यक परेको जानकारी आएपछि नेपाली सेनाका तीनवटा हेलिकप्टर तत्काल परिचालन गरिएको महतले बताइन् । स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिइन् ।

‘क्षतिको विस्तृत विवरण आइसकेको छैन। एक–दुईवटा घटनामा उद्धार गर्नुपर्ने जानकारी आएपछि हेलिकप्टर तत्काल पठाएका छौँ,’ महतले भनिन् ।

प्राधिकरणले प्रारम्भिक रूपमा बाढी हिमपग्लाइका कारण आएको हुनसक्ने अनुमान गरेको छ । महतका अनुसार नदी केही समयअघि हिमपहिरोका कारण थुनिएको र थुनिएको नदी अचानक खुलेपछि ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।

यद्यपि बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले स्पष्ट पारिन् ।

उनका अनुसार बाढी नेपालमा बिहान ८ः४० बजे प्रवेश गरेको थियो भने प्राधिकरणले रसुवाबाट करिब बिहान ९ बजे घटनाबारे जानकारी प्राप्त गरेको थियो ।

महतले सीमापारबाट आउने यस्ता विपद्का घटनाबारे पूर्वसूचना प्राप्त गर्न चीनसँग थप समन्वय आवश्यक रहेको बताइन् । नदीको माथिल्लो भाग चीनतर्फ रहेकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै जानकारी प्राप्त हुने अवस्था रहेको उनको भनाइ छ ।

यस्ता घटना बढ्दै गएकाले नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) गरी सीमा–पार विपद् सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताइन् ।

बाढीको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक बसिरहेको महतले जानकारी दिइन् । यसअघि गृहमन्त्रीको अध्यक्षतामा कमान्ड पोस्टको बैठक सम्पन्न भइसकेको छ ।

उनका अनुसार नीतिगत तथा ठूलो निर्णय आवश्यक पर्ने अवस्था आएमा राष्ट्रिय परिषद्बाट निर्णय हुनेछ । अहिले भने स्थानीय प्रशासन, स्थानीय तह तथा गैरसरकारी संस्थालगायतका निकायलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ ।

त्यस्तै, निजी क्षेत्र, हेलिकप्टर कम्पनी तथा राफ्टिङ एसोसिएसनसँग भएका सम्झौताअनुसार उनीहरूलाई अन्यत्र परिचालन नगरी आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै थप विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १२:०४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।