भारत प्रशासित कास्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।
भारत प्रशासित कास्मिरमा भारतीय सुरक्षा अधिकारीहरू लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब दुई हजार पाँच सय सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारीसाधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकु आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कास्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कास्मिरको विषयलाई लिएर तीनपटक युद्ध भइसकेको छ ।
मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतंककारी समूहलाई पाकिस्तानले पूर्ण रूपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनुपर्ने बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा बताएका हुन् । तर, उनले के कारबाही गर्ने भन्नेबारेमा केही उल्लेख गरेनन् ।
‘हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपटमार्फत अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरूको दुस्वप्न मात्र हो । तिनीहरू कहिल्यै सफल हुने छैनन्,’ प्रधानमन्त्री मोदीले भने । वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तान संलग्न रहेकामा कुनै आशंका नरहेको बताए । उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रूपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिए ।
पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ । ‘भारतीय सञ्चारमाध्यम र सरकारले कास्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ, र कुनै किसिमको अनुसन्धानबेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुखद हो,’ पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकाले पनि कास्मिर घटनाको भत्र्सना गर्दै सबै मुलुकले ‘आतंककारीहरूलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरू बन्द गर्न’ आग्रह गरेको छ ।
केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का जवान बोकेका दुईवटा नीला बस आक्रमणको निशानामा परेका थिए । विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो । ‘पहिलो बसमा सवार सबैजसो जवानको मृत्यु भयो,’ नाम नबताउने सर्तमा एकजना उच्च प्रहरी अधिकारीले बताए ।
प्रतिक्रिया