एजेन्सी । अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५० लाख डलर (५४ करोड ५० लाख रुपैयाँ) को मानवीय सहायता प्याकेज घोषणा गरेको छ ।
अस्ट्रेलियाली सरकारले यस विपद्को प्रतिक्रिया स्वरूप कन्सुलर र मानवीय सहयोग द्रुत रूपमा परिचालन गरिरहेको बताएको छ । साथै, कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिकहरू बेपत्ता भएको पुष्टि गरेको छ । अस्ट्रेलियाली अधिकारीहरू बेपत्ता अस्ट्रेलियालीहरूको अवस्थाबारे पत्ता लगाउन र विपद्बाट प्रभावितहरूलाई सहयोग प्रदान गर्न काम गरिरहेका छन् ।
अस्ट्रेलिया सरकारले भनेको छ, ‘यस विपद्को असामान्य स्तर र प्रभावित क्षेत्रको विकटताका कारण प्रतिकार्य र पुनःस्थापनामा आगामी दिनहरूमा ठूला चुनौतीहरू रहेका छन् ।’
अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागले विपदबाट प्रभावित अस्ट्रेलियालीहरूलाई सहयोग गर्न थप कर्मचारीहरू परिचालन गरिरहेको छ । नेपालमा पहिलेदेखि नै काम गरिरहेका अस्ट्रेलियाली कर्मचारीहरूलाई सहयोग गर्न आगामी ४८ घण्टाभित्र तीनजना मानवीय प्रतिकार्य विशेषज्ञहरूको प्रारम्भिक टोली नेपाल पठाइने अस्ट्रेलिया सरकारले बताएको छ । ‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमबाट छानिएका ती विज्ञहरूसँग मानवीय मूल्यांकन, बन्दोबस्ती, सञ्चार र आपतकालीन योजनामा दक्षता रहेको छ । व्यापक मानवीय प्रतिक्रियाको हिस्साको रूपमा अस्ट्रेलियाले नेपालमा तत्काल विपद् राहत, प्रतिकार्य र पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्न ५० लाख डलर उपलब्ध गराउनेछ ।
उक्त कोष स्थापित मानवीय साझेदारहरूमार्फत खाद्यान्न, आपतकालीन आवास, स्वच्छ खानेपानी र सरसफाइ लगायतका अत्यावश्यक सहयोग प्रदान गर्न खर्च गरिनेछ । बाढीले नेपाल–चीन सीमाका दुवैतर्फका समुदायहरूलाई तहसनहस पारेको, बस्तीहरू बगाएको, महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको र हजारौं मानिसहरूलाई विस्थापित गरेको अस्ट्रेलिया सरकारले बताएको छ ।
















प्रतिक्रिया