Logo

प्रमुख समाचार

कृष्णभीरमा तत्काल अस्थायी संरचना बनाएर पृथ्वी राजमार्ग सञ्चालन गरिने



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारले तत्काल अस्थायी संरचना निर्माण गर्ने भएको छ।

पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार विपद्को तत्काल सामना गर्नुका साथै विपद् प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृंखला पुनःस्थापना गर्न अस्थायी सडक सञ्चालनलाई प्राथमिकता दिइएको छ।

ट्र्याक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ निर्माण तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कामसमेत अघि बढाइने भएको छ। यसबाट तत्काल सडक सञ्चालनका लागि आवश्यक संरचना तयार पार्ने मन्त्रालयको योजना छ।

त्यस्तै, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय भएको छ।

कृष्णभीरमा भविष्यमा सडक अवरुद्ध हुने जोखिम न्यूनीकरण गर्न यसको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणको सम्भावनासमेत तत्काल अध्ययन गरिने भएको छ। मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने लक्ष्य राखेको छ।

उक्त विकल्पहरूको प्राविधिक अध्ययनमा नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारीपत्र (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तत्कालीन संरचना निर्माणसँगै कृष्णभीरको दीर्घकालीन तथा सुरक्षित सडक व्यवस्थापनका लागि प्राविधिक अध्ययनलाई पनि समानान्तर रूपमा अघि बढाइनेछ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार २१:३५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।