काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आयोजनाको सुरुङको मुखमा जमेको करिब १५ फिटसम्मको लेदो हटाएपछि नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरेको छ। सुरुङमा जमेको पानीसमेत निकास गरिएपछि उद्धारकार्य थप सहज भएको प्राधिकरणले जनाएको छ।
‘सेनाले थप अगाडिसम्म पुग्ने प्रयास गरिरहेको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानी निकास गर्न प्राविधिक टोली सफल भएको छ।’
खोज तथा उद्धारकार्य प्रभावकारी बनाउन आवश्यक स्रोत–साधनको अभाव हुन नदिने निर्णय प्राधिकरण व्यवस्थापन समितिले गरेको छ। समितिले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्थापन र त्यसको खर्च तथा अभिलेख राख्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।
बाढीपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारका पीरमर्का तथा गुनासा सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ।
सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्म पुर्याएर घटनास्थलको अवस्थाबारे जानकारी गराउने व्यवस्था पनि मिलाइएको प्राधिकरणले जनाएको छ।
















प्रतिक्रिया