गोरखा । चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा आएको बाढीले चारवटा घर बगाएको छ। आइतबार बिहान करिब ३ बजेतिर नाम्रुङ खोलामा आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आएको थाहा पाएपछि स्थानीयले घर छाडेर सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुहान क्षेत्रमा केही समय खोला थुनिएपछि लेदोसहित बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामको पुलसमेत बगाएको छ। उनका अनुसार आइतबार बिहान ४ः४० बजेदेखि बाढीको बहाव घटेको थियो र अहिले खोला सामान्य अवस्थामा फर्किएको छ।
नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रशासनले जनाएको छ।
















प्रतिक्रिया