काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो ३ दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ ।
निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो । यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यसरी वैकल्पिक मार्गबाट उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन् । विभिन्न १६ उद्योगका ग्यास यसरी निरन्तर भित्रिरहेको निगमको भनाइ छ ।
















प्रतिक्रिया