Logo

खेलकुद

एनपीएलमा आज छिमेकी टोलीसँग खेल्दै कर्णाली, ‘किलर मिलर’को खेल हेर्न पाइने



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र छिमेकी सुदूरपश्चिम रोयल्स खेल्दैछन् । खेल दिउँसो १२ः३० बजे कीर्तिपुरमा शुरु हुनेछ ।

कर्णालीले अहिलेसम्म खेलेका तीनमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ । यस्तै, सुदूरपश्चिमले चार खेल खेल्दा दुईमा जित र दुईमा हार ब्यहोरेको छ । ३ खेलबाट ४ अंक बनाएको कर्णाली तालिकाको तेस्रो स्थानमा छ भने ४ खेलबाट ४ अंक जोडेको सुदूरपश्चिम छैटौँ स्थानमा रहेको छ ।

कर्णालीबाट आज दक्षिण अफ्रिकाका विष्फोटक ब्याटर डेभिड मिलर खेल्नेछन् । उनी प्रतियोगिता खेल्न बुधबार राती काठमाडौँ आइपुगेका हुन् । उनले पहिलो खेल खेल्न लागेका हुन् । विश्व क्रिकेटमा अझ टी ट्वान्टी क्रिकेटमा तहल्का मच्चाएका मिलरको आगमनले कर्णाली हौसिएको छ । यस्तै उनको खेल हेर्न क्रिकेट समर्थक हौसिएका छन् । उनले आज कर्णालीको १० नम्बरको जर्सी लगाएर खेल्ने भएका छन् । नियमित रुपमा कप्तान सोमपाल कामीले लगाउने गरेको १० नम्बरको जर्सी मिलरले लगाउने भएपछि सोमपालले ५ नम्बरको जर्सी लगाउने चर्चा चलिरहेको छ ।

३८ बर्षे बायाँ हाते ब्याटर मिलरले आईपीएलमा देल्ली क्यापिटल्सबाट खेलेका छन् । उनले १२३ वटा टी ट्वान्टीबाट २ हजार ८ सय ४ रन बनाएका छन् भने अविजित १०६ रन उनको टी ट्वान्टीमा उच्च रन रहेको छ । उनले कर्णालीबाट कस्तो प्रदर्शन गर्ने हुन् भन्ने कुरालाई चासोका साथ हेरिएको छ ।

आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्नेछन् । खेल साँझ साढे ५ बजेपछि शुरु हुनेछ । अहिलेसम्म तीन खेलेको पोखरा जितविहीन छ ।

चितवनले तीन खेल खेल्दा एकमा जित र एकमा हार ब्यहोरेको छ । लुम्बिनीसँगको खेल भने बर्षाका कारण सम्भव नभए पछि अंक बाँडिएको थियो । पोखरा तालिकाको पुछारमा छ भने चितवन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १०:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।