Logo

अन्तर्राष्ट्रिय

भदौ १० गतेको बाढीबाट चीनमा ४३ जनाको मृत्यु, ५१९ जना बेपत्ता



काठमाडौं । नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोमा परी चीनतर्फ मृत्यु हुनेको संख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार अझै ५१९ जना बेपत्ता छन्।

हिमाली क्षेत्रमा गएको पहिरोसँगै हिमनदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो। बाढीपहिरोबाट नेपाल र चीन दुवैतर्फ गरी करिब १ हजार ४ सय जनाको मृत्यु भएको तथा ५ हजार ५ सयभन्दा बढी मानिस बेपत्ता भएको जनाइएको छ।

बाढीका कारण हजारौं घर बगेका वा डुबानमा परेका छन्। ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।

नेपालतर्फ पनि बाढीले विद्युत् गृह, सडक सञ्जाल, पुलपुलेसा, घर तथा खेतीयोग्य जमिनमा व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक आकलनअनुसार नेपाली क्षेत्रमा मात्रै भौतिक संरचना र अन्य सम्पत्तिमा भएको क्षति सयौं अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

प्रभावित क्षेत्रमा क्षतिको विस्तृत विवरण संकलन तथा पुनःस्थापना र पुनर्निर्माणको कामका लागि सरकारी निकायहरू सक्रिय भएका छन्।

 

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १८:२९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।